साहित्यकार भुवनहरि सिग्देललाई यस वर्षको ‘आदिकवि भानुभक्त पुरस्कार’
काठमाडौं।साहित्यकार भुवनहरि सिग्देललाई यस वर्षको प्रतिष्ठित ‘आदिकवि भानुभक्त पुरस्कार’ प्रदान गरिने भएको छ।
नेपाली शिक्षा परिषद्को हालै बसेको प्रबन्ध समिति बैठकले उक्त निर्णय गरेको हो। परिषद्का अध्यक्ष रमा शर्माको सभापतित्वमा बसेको बैठकले सिग्देललाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाइएको छ।
यस पुरस्कारको साथमा नगद राशि एक लाख २५ हजार रुपैयाँ समेत प्रदान गरिने परिषद्ले जानकारी दिएको छ। नेपाली साहित्यमा सिग्देलले पुर्याएको योगदानको कदर गर्दै परिषद्ले यो निर्णय गरेको हो।
परिषद्ले राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २१३औँ जयन्तीको अवसरमा आगामी असार २९ गते एक विशेष कार्यक्रमको आयोजना गर्ने जनाएको छ। कार्यक्रममा काठमाडौंको रानीपोखरीस्थित भानु मा.वि. अगाडि स्थापित भानुभक्तको प्रतिमामा माल्यार्पण गरिनेछ।
त्यस्तै, सोही दिन अपराह्न सोह्रखुट्टेस्थित लेखनाथ साहित्य सदनमा आयोजित एक समारोहका बीच भुवनहरि सिग्देललाई ‘आदिकवि भानुभक्त पुरस्कार’ विधिवत् रूपमा समर्पण गरिने परिषद्ले बताएको छ।
नेपाली शिक्षा परिषद्ले वि.सं. २०५२ सालदेखि निरन्तर रूपमा हरेक वर्ष भानु जयन्तीको दिन यो प्रतिष्ठित पुरस्कार प्रदान गर्दै आएको छ । यस वर्षको पुरस्कार सिग्देललाई प्रदान गरिने निर्णयले साहित्य वृत्तमा खुशीयाली छाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment