त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

डिसी नेपाल
१७ असार २०८३ १९:५३

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ सहरी योजनाविद् किशोर थापा नियुक्त भएका छन्।

प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले थापालाई सेवा आयोगको अध्यक्षमा नियुक्त गरेका हुन्। यसैगरी, सेवा आयोगको रिक्त सदस्य पदमा प्रा. डा. रेजिना मास्के नियुक्त भएकी छन्। त्रिभुवन विश्वविद्यालयको सेवा आयोगलाई थप प्रभावकारी, पारदर्शी र योग्य जनशक्तिमैत्री बनाउने उद्देश्यका साथ यी दुवै महत्वपूर्ण नियुक्तिहरू गरिएका हुन्।

शिक्षा तथा खेलकुद मन्त्रीसमेत रहेका विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको नेतृत्वमा गठित अध्यक्ष सिफारिस समितिले सेवा आयोगको अध्यक्ष पदका लागि प्राप्त आवेदनहरूको विस्तृत अध्ययन, मूल्यांकन तथा अन्तर्वार्तापछि तीन जनाको नाम कुलपतिसमक्ष सिफारिस गरेको थियो।

सोही सिफारिसका आधारमा कुलपति शाहले थापालाई अध्यक्षको जिम्मेवारी सुम्पिएका हुन्। सिफारिस समितिले गत जेठ महिनामा सेवा आयोग अध्यक्ष पदका लागि इच्छुक योग्य व्यक्तिहरूबाट खुला आवेदन आह्वान गरेको थियो।

निर्धारित प्रक्रियाअनुसार प्राप्त आवेदनहरूको योग्यता, अनुभव, नेतृत्व क्षमता तथा कार्यसम्पादनको वस्तुनिष्ठ मूल्यांकन गरी योग्य उम्मेदवारहरूको सर्टलिस्ट तयार पारेर सिफारिस गरिएको थियो।

नवनिवर्चित अध्यक्ष किशोर थापा आर्किटेक्ट तथा सहरी योजनाविद्का रूपमा नेपालमा परिचित हुन्। उनले नेपाल सरकारको निजामती सेवामा चार दशकभन्दा बढी समय विभिन्न उच्च जिम्मेवारीहरूमा रहेर राष्ट्रलाई विशिष्ट योगदान दिएका छन्।

उनले आफ्नो प्रशासनिक कार्यकालमा सहरी विकास मन्त्रालय, शिक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, र जल तथा ऊर्जा आयोगको सचिवालय जस्ता महत्वपूर्ण निकायहरूमा सचिवको रूपमा कुशलतापूर्वक नेतृत्व सम्हालेका थिए।

सचिव थापाले आफ्नो कार्यकालमा राष्ट्रिय आवास योजना, राष्ट्रिय सहरी विकास रणनीति, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम नीति, र नेपाल पर्यटन वर्ष २०११ लगायतका महत्त्वपूर्ण सरकारी नीति तथा राष्ट्रिय कार्यक्रमहरूको निर्माण एवं कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

विनाशकारी भूकम्पपछिको पुनर्निर्माण अभियानमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको विज्ञ सदस्यका रूपमा समेत योगदान दिएका थापा हाल नेपाल इन्स्टिच्युट अफ अर्बन एन्ड रिजनल स्टडिजमा सहरी योजनाविज्ञ तथा काठमाडौं विश्वविद्यालयमा ‘भिजिटिङ फ्याकल्टी’का रूपमा आबद्ध छन्।

आवास, सहरी विकास, पूर्वाधार, विपद् व्यवस्थापन तथा सार्वजनिक नीतिका क्षेत्रमा उहाँसँग लामो र परिपक्व अनुभव रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *