विश्व खेलकुद पत्रकार दिवस: खेलकुदका खबर सम्प्रेषण गर्ने ‘अदृश्य नायक’ हरूको सम्मान
काठमाडौं। आज जुलाई २, अर्थात ‘विश्व खेलकुद पत्रकार दिवस’। खेलकुदको मैदानमा पसिना बगाउने खेलाडीको संघर्ष र सफलतालाई शब्द र दृश्यमार्फत विश्वभर पुर्याउने खेलकुद पत्रकारहरूको सम्मानमा आज विश्वभर यो दिवस मनाइँदै छ।
खेलकुद पत्रकारिता केवल समाचार रिपोर्टिङ मात्र नभई खेलकुद जगतलाई आम जनमानससँग जोड्ने एक महत्त्वपूर्ण कडी हो। यो दिवसको सुरुवात सन् १९९४ बाट भएको हो। सन् १९२४ मा फ्रान्सको पेरिसमा ‘अन्तर्राष्ट्रिय खेलकुद प्रेस संघ’ (AIPS – Association Internationale de la Presse Sportive) को स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष जुलाई २ मा यो दिवस मनाउने गरिन्छ।
पछिल्ला दशकहरूमा खेलकुद पत्रकारिताले निकै फड्को मारेको छ। कुनै समय पत्रिकाको अन्तिम पृष्ठमा सीमित खेलकुदका समाचारहरू अहिले मूलधारको समाचारको मुख्य हिस्सा बनिसकेका छन्। विशेष गरी डिजिटल युगको आगमनसँगै खेलकुद पत्रकारिता थप प्रभावकारी र व्यावसायिक बनेको छ।
खेलकुदका समाचार र विश्लेषण बिना आज कुनै पनि सञ्चार माध्यम पूर्ण हुन सक्दैनन्। यस क्षेत्रमा कार्यरत पत्रकारहरूले मैदानको दृश्य, खेलाडीको मेहनत र खेलको भावनालाई आम पाठक तथा दर्शकमाझ पुर्याएर खेलकुद संस्कृतिको विकासमा अतुलनीय योगदान दिँदै आएका छन्।
अन्तर्राष्ट्रिय खेलकुद प्रेस संघ (AIPS) विश्वभरका खेलकुद पत्रकारहरूको साझा संस्था हो। यसले विश्वभरका खेल पत्रकारहरूको हकहितको रक्षा, व्यावसायिक मर्यादाको पालना र खेलकुद पत्रकारितामा नयाँ प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्दै आएको छ। सन् २००६ देखि नेपाल पनि एआइपिएसको सदस्यका रूपमा आबद्ध छ, जसले नेपाली खेलकुद पत्रकारहरूलाई विश्वस्तरमा जोड्न सहयोग गरिरहेको छ।
आजको प्रविधिमैत्री युगमा खेलकुद पत्रकारितामा अवसरसँगै चुनौतीहरू पनि थपिएका छन्। सामाजिक सञ्जाल र कन्टेन्ट क्रिएटरहरूको बढ्दो प्रभावले परम्परागत पत्रकारितालाई नयाँ ढंगले सोच्न बाध्य बनाएको छ। यद्यपि, निष्पक्ष रिपोर्टिङ र खेल भावनाको सम्मान गर्दै तथ्यपरक समाचार पस्कनु खेलकुद पत्रकारहरूको प्रमुख दायित्व रहिआएको छ।
विश्व खेलकुद पत्रकार दिवसले खेलकुदको माध्यमबाट विश्वमा शान्ति, मित्रता र एकताको सन्देश फैलाउने पत्रकारहरूको त्याग र समर्पणको कदर गर्दछ। आजको दिनले खेलकुद पत्रकारितामा कार्यरत सबैलाई अझ जिम्मेवार र मर्यादित ढङ्गले आफ्नो काम गर्न प्रेरणा प्रदान गर्ने विश्वास लिइएको छ।






डिसी नेपाल





Facebook Comment