सुकुम्बासी समस्या समाधान र सहकारी सुधारतर्फ सरकारको पहिलो कदम : सांसद प्रसाईं
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले सरकारले सुकुम्बासी समस्या समाधान, सहकारी क्षेत्र सुधार, सार्वजनिक खरिद प्रणाली व्यवस्थित गर्ने तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनलाई प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण कदम चालेको बताएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकपछि संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद प्रसाईंले आम नागरिकका लागि दुई वटा खुसीका खबर रहेको उल्लेख गरे।
उनले भने, ‘तपाईंले प्रश्नको सिलसिला सुरु गर्नुभन्दा अगाडि ममार्फत आम राष्ट्रवासीहरूका लागि दुईटा खुसीको खबर छन्। पहिलो, हामीले चुनावका बेला जनतासँग गरेको प्रतिबद्धताअनुसार सुकुम्बासी समस्या समाधान गर्ने दिशामा पहिलो कदम चालिएको छ। आजदेखि बर्दियाको बढैयाताल गाउँपालिका–४ मा २९ परिवारलाई लालपुर्जा वितरण गरेर अव्यवस्थित बसोबासी समस्या समाधानको अभियान सुरु गरिएको छ।’
प्रसाईंले यस कार्यका लागि प्रधानमन्त्री र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको नेतृत्वको प्रशंसा गर्दै सरकार प्रतिबद्धताअनुसार अघि बढिरहेको दाबी गरे।
उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीको मार्गदर्शन र भूमि व्यवस्था मन्त्री प्रतिभा रावलको नेतृत्वमा लालपुर्जा वितरणको सुरुवात भएको छ। यो अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने अभियानको सुरुवात हो।’
उनले अर्को खुसीको खबरका रूपमा प्रतिनिधिसभाबाट तीन वटा महत्वपूर्ण विधेयक पारित भएको उल्लेख गरे।
उनले भने, ‘आज सहकारी ऐन संशोधनको विधेयक पारित भएको छ। यसले समस्याग्रस्त सहकारीको समाधान गर्न र भविष्यमा यस्ता समस्या दोहोरिन नदिन कानुनी आधार तयार गर्नेछ।’
सार्वजनिक खरिद ऐन संशोधनले विकास आयोजनामा देखिएको ढिलासुस्ती र अव्यवस्थाको अन्त्य गर्न सहयोग पुग्ने उनको विश्वास छ।
उनले भने, ‘ठेक्का प्रणालीमा रहेको अव्यवस्था, समयमै आयोजना सम्पन्न नहुने, लथालिङ्ग र भताभुङ्ग अवस्था अन्त्य गर्न सार्वजनिक खरिद ऐन पनि संशोधन गरिएको छ।’
सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन संशोधनले नेपाललाई अन्तर्राष्ट्रिय वित्तीय निगरानी संस्था एफएटीएफको ग्रे लिस्टबाट बाहिर ल्याउन सहयोग पुग्ने पनि उनले बताए।
उनले भने, ‘कालो तथा अवैध धनलाई कानुनअनुसार नियन्त्रण र कारबाही गर्ने उद्देश्यले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन पनि संशोधन गरिएको छ। यसले नेपाललाई एफएटीएफको ग्रे लिस्टबाट हटाउने प्रक्रियामा महत्वपूर्ण सुरुवात गरेको छ।’






डिसी नेपाल





Facebook Comment