समृद्ध नेपाल निर्माणका लागि त्याग र परिश्रम अनिवार्य, षड्यन्त्रकारी प्रवृत्ति परास्त हुनुपर्छ: अध्यक्ष ओली

डिसी नेपाल
२० असार २०८३ १५:०६

काठमाडाैं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको मुख्य संकल्प ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्नु रहेको पुनरावृत्ति गर्दै यसका लागि दृढ संघर्ष, कडा मेहनत र त्याग आवश्यक रहेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित बागमती प्रदेशस्तरीय पार्टी जागरण अभियानको भव्य शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कुनै पनि राष्ट्र बिना परिश्रम, जोखिम र मूल्य चुकाएर समृद्ध बन्न नसक्ने ठोकुवा गरे।

सम्बोधनका क्रममा अध्यक्ष ओलीले देश विकास र रूपान्तरणका लागि नागरिक र राजनीतिक नेतृत्व दुवैमा अठोट हुनुपर्नेमा जोड दिए। “समृद्ध नेपाल र सुखी नेपाली बनाउन केही नगरी सबै कुरा आफैं हुन्छ भन्ने सोच राखेर समृद्धि हासिल गर्न सकिँदैन,” उनले भने, “त्यस्तो नेपाल बनाउन चाहनेले केही पसिना नबगाइ, दुःख नगरी, जोखिम नमोली हुँदैन्। केही नगरी आफै सबै कुरा हुँदैन्, पर्खनुपर्छ। भगवानले सबै आफैं गरिदिन्छन् भन्ने हो भने केही कुरा प्राप्त गर्न सक्दैनौं।”

समाजमा शान्ति, दिगो समृद्धि र आधुनिक विकास स्वतः प्राप्त नहुने भन्दै उनले देश निर्माणका लागि निरन्तर परिश्रम, समर्पण र वैचारिक संघर्ष आवश्यक रहेको औंल्याए।

अध्यक्ष ओलीले देशलाई समृद्ध र समानतामूलक समाज निर्माणको यात्रामा लैजान खोज्दा विभिन्न तत्व र प्रवृत्तिहरूले अवरोध सिर्जना गरिरहेको दाबी समेत गरे। व्यक्तिगत स्वार्थलाई मात्रै प्राथमिकता दिने, समाज र देशको हितभन्दा आफ्नो निहित लाभ मात्रै खोज्ने संकुचित मानसिकताले विकास र सामाजिक रूपान्तरणको गतिलाई रोकेको उनको भनाइ थियो।

उनले यस्ता अवरोधक प्रवृत्तिहरूमा केवल अहंकार, निर्ममता, धोका र षड्यन्त्र मात्रै देखिने गरेको भन्दै पार्टी पंक्ति र आम नागरिकलाई यस्ता गलत प्रवृत्ति विरुद्ध सचेत र गोलबद्ध हुन आह्वान गरे।

एमालेले देशव्यापी रूपमा सङ्गठन सुदृढीकरण र जनसम्बन्ध विस्तारका लागि सञ्चालन गरेको यस जागरण अभियानमार्फत पार्टीले वर्तमान राजनीतिक चुनौती, आर्थिक अवस्था र राष्ट्रिय हितका मुद्दाहरूमा जनचेतना जगाउने लक्ष्य राखेको छ। अध्यक्ष ओलीले एमाले सधैं विकास, राष्ट्रियता र सुशासनको पक्षमा अडिग रहने र जस्तोसुकै राजनीतिक षड्यन्त्रलाई चिर्दै अघि बढ्ने दृढता समेत व्यक्त गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *