सांस्कृतिक धरोहर, प्रचीन सम्पदा र राजकुलोको संरक्षण गर्छौं : मुख्यमन्त्री बानियाँ
मकवानपुर। बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले प्रदेशको सांस्कृतिक धरोहर, प्राचीन सम्पदा र राजकुलोको संवर्द्धन गरेर प्रयोगमा ल्याउने प्रतिबद्धता जनाएका छन्।
विनियोजन विधेयक २०८३ माथि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रदेश नीति योजना आयोग, प्रदेश लोकसेवा आयोग र बागमती प्रदेश, मुख्य न्याधिवक्ता कार्यालय उपर छलफलमा उठेको प्रश्न जवाफ दिँदै उनले प्रदेशको विभिन्न जिल्लामा स्थापित प्रशासनिक संरचना घटाएर आव २०८३/८४ को लागि बहुवर्षीय र भौतिक पूर्वाधार विकास निर्माण कार्यमा रकम लगानीमा वृद्धि गरिने बताए।
मुख्यमन्त्री बानियाँले प्रदेशमा सुशासनको मापदण्ड अक्षरस पालना गर्ने प्रतिबद्धताका साथ कार्यान्वयन गर्ने र प्रदेशको पायक पर्ने स्थानमा खेलकुद रङ्गशालाको साथै प्रादेशिक अस्पतालको स्तरोन्नति गरेर विपन्न नागरिकको स्वास्थ्य उपचार कार्यमा निरन्तरता दिइने बताए।
प्रदेश सरकारले आव २०८३/८४ को वार्षिक बजेटमा प्रदेशको विभिन्न जिल्लामा बसोबास गर्ने विपन्न दलित समुदायको एक हजार घरपरिवारलाई नयाँ आवास गृह निर्माण गरेर क्रमश: यसै आवभित्र ती परिवारलाई हस्तान्तरण गरिने उनको भनाइ थियो।
प्रदेशका १३ जिल्लामा बस्ने नागरिकहरूको परिवारमध्ये रोजागरी सिलसिलामा विदेशमा दुर्घटना परी मृत्यु भएका व्यक्तिको शव स्वदेशमा ल्याउने कार्यलाई प्रदेश सरकारले सङ्घीय सरकारको परराष्ट्र मन्त्रालयमार्फत समन्वय गर्ने र सो कार्यमा सम्बन्धित पीडित परिवारलाई अनुदान रकम उपलब्ध गराउने लक्ष्य राखेको मुख्यमन्त्री बानियाँले जानकारी दिए।
उनले प्रदेशमा विपन्न दलित समुदायको विद्यार्थीहरूमध्ये सात जना दलित विद्यार्थीलाई चिकित्सक एमविविएस अध्ययनको लागि अब केही दिनभित्र नाम छनोट गरी सम्बन्धित मेडिकल कलेजमा भर्ना गरिने बताए। रासस






डिसी नेपाल





Facebook Comment