सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री डा तिमिल्सिना

डिसी नेपाल
२३ असार २०८३ १९:२३

काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा रहेको बताएका छन्।

सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ केन्द्रीय समितिका पदाधिकारी एवं केन्द्रीय सदस्यहरुसँगको आजको भेटमा उनले सूचनाको हक संरक्षण र संवर्द्धनमा मन्त्रालयले काम गरिरहेको जानकारी गराए। सूचनाको हकसम्बन्धी ऐन, २०६४, नियमावली २०६५ र यससम्बन्धी अन्य कानुनले व्यवस्था गरेका संयन्त्रलाई चुस्तरुपमा परिचालन गरी यस क्षेत्रमा काम गरिने मन्त्री तिमिल्सिनाको प्रतिबद्धता छ।

सुशासनको मुख्य एजेण्डामा सरकारले काम गरिरहेकाले सूचनाको हकका माध्यमबाट भ्रष्टाचार न्यूनीकरणमा उपयोग गर्ने गरी व्यवस्था गरिने उनले सुनाए। राष्ट्रिय सूचना आयोगमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु गर्न लागिएको पनि मन्त्री तिमिल्सिनाको भनाइ छ।

महासङ्घका अध्यक्ष उमीद बागचन्दले साङ्गठनिक रुपमा देशभर भइरहेका गतिविधिका बारेमा जानकारी गराउँदै राष्ट्रिय सूचना आयोग लामो समयदेखि पदाधिकारीविहीन भएकाले छिटो पदाधिकारी नियुक्त गर्न माग गरेका थिए।

महासङ्घको प्रतिनिधिमण्डलमा वरिष्ठ उपाध्यक्ष ताराबहादुर भण्डारी, उपाध्यक्ष दुर्गा तिवारी, महासचिव पूर्णप्रसाद मिश्र, केन्द्रीय सदस्य अभिमन्यु नेपाल, वाग्मती प्रदेश समितिका महासचिव भीम लामा, काठमाडौं जिल्ला अध्यक्ष विनोद बस्नेतलगायतको उपस्थिति थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *