नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा, नवलपुरका होटल तथा पर्यटन व्यवसाय फेरि लयमा फर्किंदै

डिसी नेपाल
२४ असार २०८३ ९:३९

त्रिवेणी (नवलपरासी)। वर्षौँदेखि निर्माणाधीन रहेको नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको काम अन्तिम चरणमा पुगेपछि नवलपुर क्षेत्रका होटल तथा पर्यटन व्यवसायमा पुनः चहलपहल बढ्न थालेको छ। लामो समयसम्म धुलो, हिलो, ट्राफिक जाम र जोखिमपूर्ण यात्राका कारण प्रभावित बनेका राजमार्ग केन्द्रित होटल, रेष्टुरेन्ट तथा पर्यटन व्यवसाय अब सडक सहज बन्दै जाँदा पुरानै लयमा फर्किने अपेक्षामा छन्।

सडक निर्माणको अवधिमा यात्रु तथा पर्यटकले नवलपुर क्षेत्रमा रोकिने, खाना खाने, विश्राम गर्ने र घुमफिर गर्ने क्रम उल्लेख्य रूपमा घटेको थियो। यसको प्रत्यक्ष असर गैँडाकोटदेखि दाउन्नेसम्म सञ्चालनमा रहेका होटल तथा पर्यटन व्यवसायमा परेको व्यवसायीहरू बताउँछन्। अहिले अधिकांश सडक कालोपत्र भइसकेपछि यात्रुहरूको आवागमन सहज हुन थालेको छ भने होटलहरूमा पुनः ग्राहकको चहलपहल बढ्दै गएको छ।

नवलपुर होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष सन्तोष रानाका अनुसार सडक विस्तार सुरु भएयता पाँच–छ वर्षसम्म राजमार्ग आसपासका होटल व्यवसाय गम्भीर मन्दीको चपेटामा परेका थिए। धुलो, अव्यवस्थित सडक र लामो जामका कारण यात्रुहरू सकेसम्म प्रभावित क्षेत्र छिट्टै पार गर्न चाहने भएकाले होटलहरूमा रोकिने क्रम घटेको उनले बताए।

“सडक निर्माणका कारण लामो समयसम्म व्यापारमा मन्दी छायो। कतिपय व्यवसायीले होटल नै बन्द गर्नुपर्ने अवस्था आयो भने केही विस्थापितसमेत भए,” उनले भने, “अब सडक विस्तारको काम करिब सकिएको छ। यात्रुहरू फेरि राजमार्ग आसपासका होटलमा रोकिन थालेका छन्। यसले होटल तथा पर्यटन व्यवसाय पुरानै लयमा फर्किने विश्वास बढाएको छ।”

उनका अनुसार गैँडाकोटदेखि दाउन्नेसम्मका अधिकांश होटल व्यवसाय सडक निर्माणका कारण सबैभन्दा बढी प्रभावित भएका थिए। अहिले भने सवारीसाधन नियमित रूपमा रोकिन थालेकाले व्यवसायमा सकारात्मक संकेत देखिन थालेको उनले बताए।

दाउन्नेस्थित सुवेदी सेकुवा कर्नरका सञ्चालक विनोद शर्मा सुवेदीले पनि सडक निर्माणको अवधिलाई व्यवसायका लागि निकै कठिन समयका रूपमा सम्झिए। “धुलो र हिलोका कारण यात्रुहरू होटलमा रोकिन चाहँदैनथे। होटलभित्रका सामग्रीसमेत धुलोले ढाकिन्थे। दैनिक व्यापार निकै घटेको थियो,” उनले भने, “अहिले सडक राम्रो बन्दै गएको छ। यात्रुहरूको आवागमन बढ्न थालेको छ। यसले व्यवसाय फेरि चलायमान हुने आशा जगाएको छ।”

नवलपुर होटल व्यवसायी सङ्घका अनुसार जिल्लाभर करिब एक हजार १०० होटल तथा पर्यटनसम्बन्धी व्यवसाय सञ्चालनमा छन्। तीमध्ये अधिकांश व्यवसाय सडक विस्तार आयोजनाको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभावमा परेका थिए। अब सडक सहज बनेसँगै व्यवसायमा क्रमशः सुधार आउने विश्वास व्यवसायीहरूले गरेका छन्।

नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सराम महतोका अनुसार सडकको कमजोर अवस्थाले जिल्लाको पर्यटन क्षेत्रमा समेत ठूलो असर पारेको थियो। “पर्यटकीय गन्तव्य आकर्षक भए पनि सहज पहुँच नहुँदा पर्यटकको सङ्ख्या घटेको थियो,” उनले भने, “अब सडक विस्तारको काम लगभग सम्पन्न भएको छ। यसको सकारात्मक प्रभाव पर्यटन क्षेत्रमा पनि देखिन थालेको छ।”

उनका अनुसार अमलटारी, पिप्रहरलगायत वन्यजन्तु अवलोकनका प्रमुख गन्तव्यमा पछिल्लो समय पर्यटकको आगमन क्रमशः बढ्न थालेको छ। सडक पूर्ण रूपमा सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या अझ वृद्धि हुने अपेक्षा गरिएको छ।

नवलपुरको राजमार्ग क्षेत्रअन्तर्गत थुम्सी, दुम्किबास र दाउन्नेलगायतका स्थानहरू यात्रुका प्रमुख विश्रामस्थल तथा खानाका केन्द्रका रूपमा परिचित छन्। सडक विस्तारका कारण लामो समय सुनसान बनेका यी क्षेत्रका होटलहरूमा अहिले फेरि यात्रु रोकिन थालेका छन्।

नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत नवलपुर खण्डमा कालोपत्र र ढलानको काम सम्पन्न भइसकेको छ। अहिले सडक सुरक्षा, लेन मार्किङ, साइनबोर्ड, रेलिङ तथा अन्य सहायक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

विगतमा धुलो, जाम र जोखिमपूर्ण यात्राका कारण आलोचित बनेको यो सडक अहिले क्रमशः सहज, सुरक्षित र व्यवस्थित बन्दै गएको छ। सडक पूर्वाधारमा आएको सुधारसँगै होटल, पर्यटन, यातायात तथा स्थानीय व्यापार–व्यवसायमा नयाँ उत्साह थपिएको छ। व्यवसायीहरूको विश्वास छ कि सहज सडकले यात्रु तथा पर्यटकको आगमन बढाएर नवलपुरको समग्र आर्थिक गतिविधिलाई थप गतिशील बनाउनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *