डेढ लाखको ऋणले खोस्यो सर्वस्व: ६५ लाख बुझाउँदा पनि मेटिएन तमसुक, ९६ दिनदेखि मण्डलामा धर्ना
काठमाडौं। सानो घरायसी आवश्यकता पूरा गर्न लिएको डेढ लाख रुपैयाँ ऋणका कारण सर्लाहीको बरहथवा नगरपालिका-९ का भागनारायण महतो र उनकी पत्नी उमाकुमारी महतोको जीवन संकटमा परेको छ।
मिटरब्याजीको फन्दामा परेर घरजग्गासहित जीवनभरको कमाइ गुमाउनुपरेको भन्दै यो ज्येष्ठ नागरिक दम्पती विगत ९६ दिनदेखि काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिइरहेका छन्।
नयाँ सरकार गठन भएसँगै न्याय पाउने आशामा काठमाडौं आएका उनीहरू लामो समय बित्दा पनि माग सम्बोधन नभएपछि सडकमै संघर्ष गर्न बाध्य भएका हुन्।
चार दिनमै १० लाखको तमसुक, ६५ लाख बुझाउँदा पनि सकिएन ऋण
पीडित भागनारायण महतोका अनुसार आर्थिक अवस्था कमजोर भएपछि उनकी पत्नी उमाकुमारीले २०७२ सालमा घरखर्च चलाउन छिमेकी निशान मैनालीको परिवारबाट १ लाख ५० हजार रुपैयाँ ऋण लिएकी थिइन्। तर, उक्त ऋण विस्तारै उनीहरूको जीवनकै सबैभन्दा ठूलो पासो बन्यो।
“हामीले डेढ लाख रुपैयाँ ऋण लिएका थियौं, तर लिएको चार दिनमै १० लाख रुपैयाँको तमसुक बनाइयो,” महतोले आफ्नो पीडा सुनाए, “आजसम्म हामीले पटक-पटक गरेर ६० देखि ६५ लाख रुपैयाँ बुझाइसकेका छौं। तर, अझै ऋणबाट मुक्त हुन सकेका छैनौं। उल्टै हाम्रो जग्गासमेत खोसियो।”
आफू र आफ्नी पत्नी अशिक्षित भएको र सामान्य लेखपढसमेत गर्न नजान्ने भएकाले साहुले त्यसकै फाइदा उठाएर ठगी गरेको महतोको आरोप छ। “कागजमा के लेखिएको छ भन्ने हामीलाई थाहा थिएन। विश्वासमा परेर बुढीले औंठाछाप र हस्ताक्षर गरिन्। पछि मात्र थाहा भयो, ऋणको नाममा हाम्रो सम्पत्ति नै अर्कैको भइसकेछ,” उनले भने।
जग्गा नामसारी र मालपोतको प्रक्रियामाथि प्रश्न
महतोले आफूहरूलाई जानकारी नै नदिई जग्गा हस्तान्तरण गरिएको दाबी गर्दै मालपोत तथा जग्गा नामसारी प्रक्रियामा संलग्न कर्मचारी र ऋण कारोबारमा जोडिएका सबै पक्षमाथि निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरेका छन्। “ऋण लेनदेन एउटा कुरा हो, तर ऋणको आवरणमा कसरी हाम्रो थातथलो नै लिलाम गरियो? यसको छिनोफानो हुनुपर्छ र दोषीलाई कानुनी कारबाही हुनुपर्छ,” महतोले माग गरे।
लामो समयदेखि न्यायका लागि स्थानीय प्रशासन, नगरपालिका र केन्द्र सरकारका विभिन्न निकाय धाए पनि कतैबाट ठोस सुनुवाइ नभएको र केवल आश्वासन मात्र पाएको महतो दम्पतीको गुनासो छ।
‘गृह मन्त्रालयबाट आश्वासन मात्र पाइयो, न्याय पाइएन’
केही समयअघि धर्नास्थल माइतीघर मण्डला पुगेका गृहमन्त्रीसमक्ष महतो दम्पतीले आफ्नो माग राखेका थिए। गृह मन्त्रालयबाट घटनाको सत्यतथ्य छानबिन गर्ने आश्वासन पाए पनि हालसम्म कुनै ठोस प्रक्रिया अघि नबढेको उनीहरूको भनाइ छ।
“हामीलाई अनुसन्धान गर्छौँ भनिएको थियो, तर दिनहरू बित्दै गएका छन्। एउटा कुरा स्पष्ट छ-ठूला मानिसको मुद्दामा राज्य संयन्त्र तत्काल चल्छ, तर हामीजस्ता सामान्य नागरिकको रोदन सुन्न सरकारलाई किन यति धेरै समय लाग्छ?” महतोले प्रश्न गरे।
छोराछोरीको भविष्य अन्योलमा, न्याय नपाएसम्म धर्ना जारी रहने
मिटरब्याजको यो दुष्चक्रले महतो परिवारको आर्थिक मेरुदण्ड मात्र भाँचेको छैन, छोराछोरीको भविष्यसमेत अन्धकारमा धकेलिदिएको छ। आर्थिक अभावकै कारण छोराछोरीको पढाइ बीचैमा रोकिएको र उनीहरू सानै उमेरमा श्रम बजारमा होमिन बाध्य भएको पीडा भागनारायणले पोखे।
उनी भन्छन्, “ऋण लिनु अपराध होइन, तर ऋणको बहानामा कसैको घरबारविहीन बनाउनु र सिंगो जीवन समाप्त पार्नु जघन्य अपराध हो। हामी वृद्ध भइसक्यौँ, रहरले सडकमा बसेका होइनौं। तर, जबसम्म हाम्रो खोसिएको सम्पत्ति फिर्ता हुँदैन र न्याय पाइँदैन, तबसम्म हाम्रो यो आन्दोलन रोकिने छैन।”
नेपालमा मिटरब्याज नियन्त्रणका लागि कानुनी व्यवस्था गरिए पनि कार्यान्वयनको पाटो फितलो हुँदा अझै पनि सयौँ भागनारायणहरू न्यायको खोजीमा राजधानीका सडकमा खुल्ला आकाशमुनि रात बिताउन बाध्य छन्।






डिसी नेपाल





Facebook Comment