गणेश नेपालीको आत्मदाह प्रयासपछि चन्द्र भण्डारीको प्रश्न: देशमै जलनको पर्याप्त उपचार कहिले ?

डिसी नेपाल
२६ असार २०८३ ११:५३

काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेपालमा जलन (बर्न) को उपचारका लागि आवश्यक स्रोत-साधन, पूर्वाधार र दक्ष जनशक्तिको चरम अभाव रहेको बताएका छन्।

काठमाडौंको राहदानी विभाग अगाडि शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गर्दा घाइते भएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनाप्रति दुःख व्यक्त गर्दै उनले नेपालमा जलन उपचारका लागि अस्पतालहरू भए पनि गम्भीर प्रकृतिका बिरामी बचाउन आवश्यक पर्ने अत्याधुनिक सुविधा पर्याप्त नभएको उल्लेख गरे।

विशेष गरी जलन भएका बिरामीका लागि चाहिने छुट्टै प्रकृतिको आईसीयू, अत्याधुनिक उपकरण र विशेषज्ञ चिकित्सकहरूको संख्या न्यून हुँदा बिरामीहरूले समयमै उचित उपचार पाउन नसकेको उनको भनाइ छ।

आफू स्वयं पनि जलनको गम्भीर पीडित भई भारतमा उपचार गराएर फर्किएको स्मरण गर्दै नेता भण्डारीले जलनको उपचार निकै महँगो र जटिल हुने भएकाले सामान्य नागरिकका लागि यो सेवा पहुँचभन्दा बाहिर रहेको बताए।

जलनका घटनामा मानिसहरू आत्तिएर तत्कालै सुविधासम्पन्न अस्पताल लैजान खोज्ने भए पनि नेपालमै उचित प्रविधि र अस्पताल व्यवस्थापन नहुँदा धेरै बिरामीलाई विदेश लैजानुपर्ने बाध्यता रहेको उनले उल्लेख गरे।

सरकारले आगलागी तथा अन्य दुर्घटनाबाट घाइते भएका नागरिकहरूको जीवन रक्षाका लागि देशभित्रै विशेष व्यवस्था, दक्ष चिकित्सक र भरपर्दो पूर्वाधारको विकास गर्नुपर्नेमा जोड दिँदै उनले नेपालमै गुणस्तरीय उपचारको ग्यारेन्टी गर्न सके मात्रै उपचारका लागि विदेश धाउनुपर्ने बाध्यता अन्त्य हुने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *