गणेश नेपाली आत्मदाह प्रकरण: ‘सरकारको कालो चस्मा खोल्ने बेला आयो’ भन्दै संसद्मा प्रतिपक्षको आक्रोश
काठमाडौं। त्रिपुरेश्वरमा बिहीबार दिउँसो मुगुका २५ वर्षीय गणेश नेपालीले गरेको आत्मदाह प्रयास र त्यसपछि सिर्जना भएको परिस्थितिलाई लिएर प्रतिनिधिसभामा सरकारको तीव्र आलोचना भएको छ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारूढ नेकपा (एमाले) का सांसदहरूले विशेष समय लिएर घटनाको निष्पक्ष छानबिन र सरकारको संवेदनशीलतामाथि गम्भीर प्रश्न उठाएका हुन्।
प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद बासना थापाले प्रधानमन्त्री बालेन शाहको कार्यशैलीमाथि कडा प्रहार गरिन्।
राज्यको सफलतामाथि विगतमा कठोर प्रश्न उठाउनेहरू नै आज सत्तामा पुग्दा मूकदर्शक बनेको आरोप लगाउँदै उनले शरीर आगोमा दन्किरहेको बेला राज्यले एम्बुलेन्स समेत पठाउन नसकेको र बरु प्रहरी प्रशासन लगाएर कसुरदारलाई जस्तै घिसारेर लगिएकोमा आपत्ति जनाइन्।
यो उद्धार नभएर गिरफ्तारी जस्तो देखिएको उल्लेख गर्दै उनले वर्तमान सरकार जनताको ज्यान जोगाउने र राहत दिने भन्दा पनि मानवीय संवेदनशीलतालाई कुल्चिएर सामाजिक सञ्जालमा लाइक बढाउने ध्याउन्नमा मात्र केन्द्रित देखिएको बताइन्।
काठमाडौं महानगरपालिका र सरकारका पछिल्ला कदमहरूका कारण नागरिकहरू चरम निराशामा पुगेको प्रस्ट पार्दै उहाँले केही समयअघि सुकुमवासीलाई विकल्पबिना उठीबास लगाउँदा १७ वर्षीय रविन तामाङ र ६१ वर्षीय इन्द्रबहादुर राईले ज्यान गुमाउनु परेको तथा हिजो मात्रै धोबीखोलामा हाम फालेर अर्का एक नागरिकले मृत्युवरण गरेको खबर आएको स्मरण गराइन्।
साझा यातायातको रङ पोतेर मात्र नागरिकले सुरक्षाको महसुस गर्न नसक्ने भन्दै उनले प्रधानमन्त्रीलाई अब त्यो कालो चस्मा खोल्ने बेला आएको चेतावनी दिइन्।
यसैगरी, सत्तारूढ दल नेकपा (एमाले) की सांसद भूमिका लिम्बु सुब्बाले पनि संसद्मा विशेष समय लिँदै गणेश नेपालीको घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने माग गरिन्। यो केवल एउटा व्यक्तिको मृत्यु मात्र नभई प्रणालीकै असफलताको प्रतिविम्ब भएको उनको भनाइ थियो।
यातायात तथा ट्राफिक नियमनका नाममा सर्वसाधारणमाथि थोपरिने अत्यधिक जरिवाना र प्रशासनिक दबाबतर्फ संकेत गर्दै उनले राज्यले लिने ट्राफिक जरिवाना र यसका नीतिहरू कति उचित वा अनुचित छन् भन्ने कुरा बुझ्न अब गणेश नेपालीको अनुहार हेरे पुग्ने बताइन्।
उनले यस दुःखद घटनाको सत्यतथ्य छानबिन गरी दोषी र लापरवाही गर्ने संयन्त्रमाथि तत्काल कारबाही अघि बढाउन सरकारसँग आग्रह गरिन्।






डिसी नेपाल





Facebook Comment