गणेश नेपाली आत्मदाह प्रकरण: निष्पक्ष छानबिन र पीडित परिवारलाई क्षतिपूर्ति दिन संसद्‍मा विपक्षी दलहरूको माग

डिसी नेपाल
२६ असार २०८३ १४:४०

काठमाडौं। प्रतिनिधिसभाका सांसदहरूले त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरी ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनाका सम्बन्धमा तत्काल निष्पक्ष छानबिन गर्न सरकारसँग जोडदार माग गरेका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले सांसद वासना थापालाई बोल्ने समय उपलब्ध गराएका थिए।

बैठकमा बोल्दै सांसद थापाले मुगुका नेपालीले बिहीबार गरेको आत्मदाह प्रयासको यति गम्भीर घटनामा पनि सरकार किन मौन बसेको भनी कडा प्रश्न गरे।

काठमाडौं महानगर र सरकारका नीतिहरूतर्फ संकेत गर्दै उनले हरियो रङको बसलाई निलो बनाएर मात्र नागरिकको सुरक्षा हुन नसक्ने टिप्पणी गरिन् भने सुकुमवासीहरू समेत नदीमा हाम फालेर मर्न बाध्य हुनुपर्ने पीडादायी वातावरण बनाइएको भन्दै आक्रोश पोखिन्।

यसैगरी, बैठकमा बोल्दै सांसद भूमिका लिम्बू सुब्बाले गणेश नेपालीले मोटरसाइकल पार्किङ गरेकै कारण राज्यले १० हजार रुपैयाँ जरिवाना तिराएपछि सोही दबाबका कारण आत्मदाहको प्रयास गरेको दाबी गर्दै नागरिकका लागि यस्तो प्रतिकूल वातावरण बन्नु अत्यन्तै दुःखद् भएको बताइन्।

उनले देशका आम नागरिकलाई यसरी मर्न बाध्य किन बनाइँदै छ भनी सरकारको गम्भीर ध्यानाकर्षण गराइन्। अर्की सांसद पार्वती विकले गणेश नेपालीजस्ता सर्वसाधारण नागरिकले राज्यकै सामुन्ने जिउँदै जलेर मर्नुपर्ने भयावह अवस्था आउनु निन्दनीय भएको उल्लेख गर्दै मृतकका आश्रित परिवारलाई तत्काल उचित क्षतिपूर्ति दिन माग गरिन्।

बैठकमा सांसद राधिका रम्तेलले पनि मृतक नेपालीको आत्मदाह घटनाका विषयमा सत्यतथ्य बाहिर ल्याउन उच्चस्तरीय छानबिन हुनुपर्नेमा जोड दिइन्।

राप्रपा सांसद ज्ञानबहादुर शाहीले नेपालको राजधानी काठमाडौंमा गरिब र दुःखी जनताहरू अब बाँच्नै नसक्ने खालको कठोर वातावरण बनेको भन्दै दुःख व्यक्त गरे।

राज्यका सम्पूर्ण सुविधा र व्यवस्थाहरू हुनेखाने एवं पहुँचवालाका पक्षमा मात्र सीमित रहेको आरोप लगाउँदै उनले नेपाली नागरिकहरू युरोपमा भन्दा बढी कर तिर्न विवश भए पनि राज्यबाट पाउने सेवा सुविधाका नाममा सोमालियामा जस्तै सास्ती भोग्न बाध्य भएको टिप्पणी गरे।

सर्वसाधारण नागरिकले आर्थिक र प्रशासनिक दबाब सहन नसकी आत्मघाती बाटो रोज्नुपर्ने परिस्थितिको अन्त्य गर्न संसद्‍मा उपस्थित सांसदहरूले सरकारलाई तत्काल जवाफदेही बन्न आग्रह गरेका छन्।




प्रतिक्रिया

One thought on “गणेश नेपाली आत्मदाह प्रकरण: निष्पक्ष छानबिन र पीडित परिवारलाई क्षतिपूर्ति दिन संसद्‍मा विपक्षी दलहरूको माग

  1. Nispakchha chhan bin hunu parchha, tara yedi guilty nai ho vane dosi le sajaye paunai parchha chahe je sukkai garos, no excused for anyone, Jay traffic prahari jiu haru

Leave a Reply

Your email address will not be published. Required fields are marked *