गणेशले आत्मदाह गर्नुपर्ने अवस्था आउनुमा बालेन नेतृत्वकै महानगर जिम्मेवार : रक्षा बम
काठमाडौं। नागरिक आन्दोलनमा सक्रिय जेनजी अभियन्ता रक्षा बमले आत्मदाह गरेका गणेश नेपालीको घटनाप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।
उनले सामाजिक सञ्जालमार्फत काठमाडौं महानगरपालिकाको कार्यशैलीमाथि प्रश्न उठाउँदै महानगर प्रहरीको व्यवहार र गरिब तथा सडक व्यवसायीप्रतिको दृष्टिकोणको आलोचना गरेकी हुन्।
उनले बालेन शाह काठमाडौं महानगरपालिकाको मेयर बनेपछि महानगर प्रहरीमा अमानवीय, असंवेदनशील र गुण्डागर्दी प्रवृत्ति विकास भएको आरोप लगाइन्। सडक व्यापारी, गरिब तथा सुकुम्बासी समुदायमाथि महानगरको व्यवहारले उनीहरूको आत्मसम्मानमा चोट पुगेको उनको भनाइ छ।
रक्षाले लेखेकी छन्, ‘३५ वर्षको भारी पुरानालाई बोकाउने रास्वपा समर्थक र बालेनका फ्यानबोईहरूले, बालेनलाई तीन वर्षको भारी बोकाउन अब तयार हुनुपर्छ।’
उनले गणेशले आत्मदाह गर्नुपर्ने अवस्था आउनुमा महानगरको विगतको कार्यशैली पनि जिम्मेवार रहेको दाबी गरेकी छन्। महानगरको डोजर अभियान र नगर प्रहरीको व्यवहारले कमजोर वर्गमाथि दबाब सिर्जना गरेको उनको आरोप छ।
उनका अनुसार बालेन शाह मेयरको चुनावी अभियानका क्रममा सडक व्यापारी व्यवस्थापन गर्ने प्रतिबद्धता लिएर आएका भए पनि महानगरको नेतृत्वमा पुगेपछि गरिबमारा शैली अपनाएको आरोप लगाइन्।
रक्षाले विगतमा सडक व्यवसायी, सुकुम्बासी र अभियानकर्तासँग भएका विवाद उल्लेख गर्दै महानगरले मानवीय पक्षलाई बेवास्ता गरेको बताएकी छन्। उनले अदालतको हस्तक्षेपपछि मात्रै महानगरको डोजर अभियान केही नियन्त्रणमा आएको दाबी गरिन्।
उनले गणेश नेपालीको घटनापछि पनि पीडितमाथि प्रश्न उठाउने प्रवृत्ति देखिन सक्ने भन्दै राज्य र स्थानीय तहले आफ्ना कार्यशैली सुधार गर्नुपर्ने बताएकी छन्।
‘त्यसैले जबसम्म बालेनले आफ्नो शैली सुधार्दैनन्, उनलाई निरन्तर गल्ती दोहोर्याउन छुट दिने फ्यानबोईहरूले बालेनलाई तीन वर्षे महानगरकालीन सत्ता सञ्चालनको भारी बोकाउँदैनन्, तबसम्म यो चलिरहन्छ, गणेशहरू मरिरहन्छन्। अलविदा गणेश, धेरै सतायो यो राज्यले। अब आराम गर।’, रक्षाले लेखेकी छन्।






डिसी नेपाल





Facebook Comment