इरानलक्षित एक हजार अमेरिकी क्षेप्यास्त्र तयारी अवस्थामा, इरानी सेनाद्वारा सीमामा निगरानी तीव्र

डिसी नेपाल
२७ असार २०८३ १७:२८

वासिंटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ध्वस्त पार्ने कडा चेतावनी दिँदै अमेरिकी सेना जुनसुकै परिस्थिति सामना गर्न तयार रहेको बताएका छन्।

सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले इस्लामिक गणतन्त्र इरानलाई लक्षित गरी प्रहार गर्न एक हजार क्षेप्यास्त्रहरू पूर्ण तयारी अवस्थामा राखिएको जानकारी दिएका हुन्। इरानी सरकारले विश्वका विभिन्न स्थानमा संयुक्त राज्य अमेरिकाका बहालवाला राष्ट्रपतिको हत्या गर्ने वा हत्याको प्रयास गर्ने भनी व्यक्त गरेको धम्कीलाई कार्यान्वयन गरेमा, त्यसको लगत्तै हजारौँ थप क्षेप्यास्त्रहरू प्रहार गरिने राष्ट्रपति ट्रम्पले स्पष्ट पारेका छन्।

अमेरिकी राष्ट्रपतिको यस आक्रामक अभिव्यक्ति सार्वजनिक भइरहँदा इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले भने अमेरिकाले समझदारी पत्रको ठाडो उल्लंघन गरेको आरोप लगाएका छन्।

सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै विदेशमन्त्री अराघचीले इरानले अहिलेसम्म आफ्ना सम्पूर्ण प्रतिबद्धताहरू पालना गर्दै आएको दाबी गरे। उनले पछिल्लो घटनाक्रमलाई अमेरिकाद्वारा गरिएका अन्य उल्लंघन र गलत कदमहरूको शृङ्खलाकै एक हिस्सा भएको उल्लेख गर्दै द्विपक्षीय समझदारीमा दुवै पक्षको पालना अनिवार्य हुने कुरामा जोड दिए।

यसैगरी, इरानी संसदका सभामुख मोहम्मद बाघेरी घालीबाफले तेहरान कुनै पनि हालतमा अमेरिका सामु नझुक्ने स्पष्ट पारे। अल जजिराका अनुसार सभामुख घालीबाफले यदि अमेरिकाले समझदारी पत्रको उल्लंघन गरेमा इरान आफ्नो रक्षा गर्न पूर्ण रूपमा सक्षम र तयार रहने बएका छन्।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकायीले पनि इरानी रक्षकहरूले अमेरिकी हरेक गतिविधिलाई कडा निगरानीमा राखिरहेको प्रष्ट पारेका छन्। उनले मौसमको प्रवाह नगरी इस्लामिक गणतन्त्र इरानका सशस्त्र बलमा आबद्ध वीर सैनिकहरू देशका तट, टापु, सीमाना र अन्य संवेदनशील क्षेत्रहरूमा तैनाथ रही सुरक्षामा खटिएको जानकारी दिएका छन्

तनावपूर्ण बयानबाजीका बीच अमेरिकी उच्च अधिकारीहरूले भने अमेरिका र इरानबीच भइरहेको वार्ता फलदायी रहेको बताएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजिराका अनुसार वासिङ्टनले इरानसँग अन्तिम सम्झौता हुनका लागि केही ठोस सर्तहरू पूरा हुनुपर्ने अडान राख्दै आएको छ।

जसमा पहिलो सर्तका रूपमा इरान आणविक सर्तहरू पूर्ण रूपमा मान्न सहमत हुनुपर्ने र आफ्ना सम्पूर्ण आणविक सामग्रीहरू हस्तान्तरण गर्नुपर्ने अमेरिकी मुख्य माग रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *