शेख हसिना डिसेम्बरमा बंगलादेश फर्केर अदालतमा आत्मसमर्पण गर्ने
काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू आगामी डिसेम्बरमा भारतबाट बंगलादेश फर्किने र अदालतमा आत्मसमर्पण गर्ने बताएकी छन्। उनले आफ्नो साथमा अवामी लिगका थुप्रै वरिष्ठ नेताहरूले पनि आत्मसमर्पण गर्ने जानकारी दिएकी छन्।
रोयटर्स समाचार एजेन्सीलाई दिएको अन्तर्वार्तामा उनले भनिन्— “अवामी लिगका लगभग सबै ठुला नेता र कार्यकर्ताहरूविरुद्ध मुद्दा दर्ता गरिएको छ र धेरैजसो मानिसहरू लुकेर बस्न बाध्य छन्।” यद्यपि, हसिनाले आफ्नो फिर्तीको निश्चित मिति भने खुलाएकी छैनन्।
सन् २०२४ मा सरकार विरोधी तीव्र आन्दोलनपछि हसिना बंगलादेश छाडेर भारत आएकी थिइन्। त्यसपछि उनलाई विद्यार्थी आन्दोलन दबाउन गरिएको सैन्य तथा प्रहरी कारबाहीसँग सम्बन्धित मुद्दामा अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाइएको थियो। उनले यी आरोपहरूलाई लगातार अस्वीकार गर्दै आएकी छन्।
शेख हसिनाले बंगलादेश फिर्ता हुने विषयमा आफूले वर्तमान सरकारसँग कुनै पनि प्रकारको कुराकानी नगरेको स्पष्ट पारेकी छन्। उनका अनुसार लोकतन्त्र, निर्वाचन, अवामी लिगको राजनीतिक अधिकार र न्याय जस्ता गम्भीर मुद्दाहरूमा पर्दा पछाडि वार्ता हुन सक्दैन।
हसिनाले बंगलादेश सरकारले उनलाई फिर्ता पठाउनका लागि भारतलाई लगातार पत्र लेखिरहेको दाबी गरिन्। उनले भनिन्, “मलाई फिर्ता ल्याउनका लागि प्रयास गरिरहनु पर्दैन, म आफैँ फर्किनेछु। मलाई हत्या गरिए पनि स्वीकार्य छ, म आफ्नै देशको माटोमा मर्न चाहन्छु।”
यद्यपि, हसिनाको यस दाबीमा बंगलादेश सरकारको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन। अर्कोतर्फ, भारतले पनि हालका लागि यस विषयमा कुनै टिप्पणी गरेको छैन। यसअघि अप्रिल महिनामा भारतले बंगलादेशको सुपुर्दगी (प्रत्यर्पण) अनुरोधमाथि विचार गरिरहेको र नयाँ सरकारसँग सम्बन्ध सुदृढ बनाउने दिशामा काम गरिरहेको बताएको थियो। सन् २०२४ अगस्ट ५ मा भएको हिंसात्मक प्रदर्शनपछि शेख हसिना हेलिकप्टरबाट ढाका छाडेर दिल्ली आएकी थिइन्।
शेख हसिनाले आफूलाई जेल जान कत्ति पनि डर नलागेको बताउँदै यसअघि पनि आफू पटक–पटक पक्राउ परिसकेको स्मरण गराइन्। सत्तामा लामो समयसम्म रहने जुनसुकै सरकारबाट पनि गल्तीहरू हुन सक्ने स्वीकार गर्दै उनले त्यसको फैसला अदालतले नभई जनताले गर्नुपर्ने धारणा व्यक्त गरिन्। उनले भनिन्, “यदि हाम्रो सरकारबाट गल्तीहरू भएका थिए भने त्यसको फैसला जनताले गर्नेछन्।”
रोयटर्सका अनुसार, संयुक्त राष्ट्र संघको एक प्रतिवेदनमा सन् २०२४ को विद्यार्थी आन्दोलनका क्रममा भएको दमनमा करिब १,४०० जनाको मृत्यु भएको उल्लेख गरिएको छ। सोही प्रकरणमा शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाइएको हो। हसिनाले अदालतमा सुनुवाइ सुरु भएपछि सत्यतथ्य बाहिर आउनेमा आफू विश्वस्त रहेको बताएकी छन्।
राजधानी ढाकानजिकै रहेको सावरमा चार दिनअघि सोमबार शेख हसिना विरोधी र्यालीका क्रममा बम विस्फोट भएको थियो। उक्त आक्रमणमा ३ जना घाइते भएका थिए भने मञ्चमा विद्यार्थी आन्दोलनका प्रमुख अनुहारमध्येका एक नाहिद इस्लामसहित नेसनल सिटिजन पार्टी (एनसीपी) का कयौँ वरिष्ठ नेताहरू उपस्थित थिए।
विस्फोट सोमबार राति करिब ९:४५ बजे भएको थियो, जतिबेला पार्टीकी एक महिला नेताले सभालाई सम्बोधन गरिरहेकी थिइन्। घाइतेहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।
यो र्याली सन् २०२४ जुलाईको विद्यार्थी आन्दोलनको दोस्रो वर्षगाँठको अवसरमा आयोजना गरिएको थियो। सोही आन्दोलनका कारण शेख हसिनाको सरकार सत्ताच्युत भएको थियो। हालसम्म विस्फोटको मुख्य कारण खुल्न सकेको छैन र मामिलाको अनुसन्धान जारी छ।
बंगलादेश सरकारका अनुसार हसिनालाई देश फर्काउने प्रयासहरू भइरहेका छन्। विदेश राज्यमन्त्री शमा ओबइद इस्लामले मंगलबार जानकारी दिए अनुसार, हसिनालाई अदालतको कठघरामा उभ्याउनका लागि सरकारले कूटनीतिक स्तरमा लगातार प्रयास गरिरहेको छ र यस प्रक्रियामा कुनै कमी राखिएको छैन।
उनले हसिनालाई फिर्ता ल्याउने कानुनी प्रक्रिया अन्तरिम सरकारकै समयमा सुरु भएको र वर्तमान निर्वाचित सरकारले पनि त्यसलाई अगाडि बढाइरहेको बताएकी छन्। उनका अनुसार, सुपुर्दगी अन्तर्राष्ट्रिय नियम र कानुनी प्रक्रिया अन्तर्गत नै हुने भएकाले यसमा केही समय लाग्नु स्वाभाविक हो। भारतले यस मामिलामा सहयोग गरिरहेको छ कि छैन भन्ने प्रश्नमा उनले सीधा जवाफ भने दिइनन्।






डिसी नेपाल





Facebook Comment