गजलकार हेमराज मिश्र ‘आँशु’ सुदूर पश्चिमाञ्चल साहित्य समाजद्वारा सम्मानित

डिसी नेपाल
२९ असार २०८३ १७:२७

धनगढी । सुदूर पश्चिमाञ्चल साहित्य समाज धनगढीले गजलकार हेमराज मिश्र ‘आँसु’लाई सम्मान गरेको छ।

लामो समयदेखि सुदूरपश्चिमको धनगढीलाई कार्यक्षेत्र बनाई साहित्य सिर्जना र साहित्यिक गतिविधिमा सक्रिय रहँदै आएका मिश्रलाई समाजले उनको विशिष्ट योगदानको कदर गर्दै सम्मान गरेको हो।

संस्थाले नेपाली वाङ्मयका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औं जन्मजयन्तीका अवसरमा आयोजना गरेको कार्यक्रमबीच उनलाई सम्मान प्रदान गरेको छ। समाजका विभिन्न ऐतिहासिक र विशाल कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गर्न मिश्रले निर्वाह गरेको भूमिका अत्यन्त प्रशंसनीय रहेको सम्मान पत्रमा उल्लेख छ।

विगत दुई दशकदेखि सुदूरपश्चिमको साहित्य समाजमा आवद्ध रहेर साहित्यिक भवन निर्माण तथा ऐतिहासिक कार्यक्रमहरू सम्पन्न गर्नमा मिश्रले पुर्‍याएको योगदानको समाजले उच्च मूल्यांकन गरेको छ। समाजको कार्यालय सचिवका रूपमा समेत उनले इमानदारीपूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएका छन्।

साहित्यको सेवा, उत्थान र श्रीवृद्धिमा मिश्रले पुर्‍याएको योगदानका साथै संस्थाको अक्षयकोष निर्माणमा उनले गरेको सहयोग उदाहरणीय रहेको सम्मान पत्रमा बताइएको छ। भविष्यमा पनि साहित्यको सेवा र उत्थानमा उनको निरन्तर योगदान रहने विश्वास समाजले गरेको छ।

कैलाली जनपुस्तकालयका अध्यक्ष शिवराज ओझको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वामी देवराज आचार्य प्रमुख अतिथि रहेका थिए। कार्यक्रमको सञ्चालन शुभाष शंकल्प भण्डारीले गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *