शिक्षा मन्त्रालयद्वारा ‘होल्डिङ सेन्टर’ का विद्यार्थीलाई राहत सामग्री वितरण

डिसी नेपाल
२९ असार २०८३ २१:१२

काठमाडौं। शिक्षा तथा खेलकुद मन्त्रालयले भक्तपुरको खरिपाटी र बोडेस्थित ‘सुकुमवासी होल्डिङ सेन्टर’ मा रहेका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले आज खरिपाटीमा रहेका २१ र बोडेमा रहेका १८ जना विद्यार्थीलाई राहत सामग्री हस्तान्तरण गरेका हुन्।

‘होल्डिङ सेन्टर’ मा रहेका विद्यार्थीका लागि झोला, कलम–कापीलगायतका शैक्षिक सामग्रीसहित क्यारम्बोर्ड, ब्याडमिन्टन, चेस, भलिबललगायतका खेलकुदका सामग्री वितरण गरिएको छ।

शिक्षामन्त्री पोखरेलले एक कार्यक्रमबीच शैक्षिक तथा खेलकुद सामग्री वितरण गर्नुहुँदै बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए। उनले ‘होल्डिङ सेन्टर’ मा बस्दै आएका विद्यार्थीको पठनपाठनमा कुनै कठिनाइ नहोेस् भन्ने कुरामा मन्त्रालय प्रतिबद्ध रहेको पनि जानकारी गराए।

यसैगरी, सरकारका प्रवक्ता एवं मन्त्री पोखरेलले ‘होल्डिङ सेन्टर’ मा बस्दै आएका नागरिकको स्वास्थ्य, सुरक्षासहित समग्र व्यस्थापनका लागि सम्बद्ध मन्त्रालयहरूबीच आवश्यक समन्वयसहित सहकार्य भइरहेकाले ढुक्क भई बस्न अनुरोध गरे।

शिक्षामन्त्री पोखरेलले ‘होल्डिङ सेन्टर’ मा रहका विद्यार्थीको विद्यालय भर्नालगायत आउने जाने क्रममा समस्या देखिए आवश्यक सहजीकरणसहित समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। यसैबीच ‘होल्डिङ सेन्टर’मा रहका विद्यार्थीलाई विद्यालय जान–आउन सहज बनाउने उद्देश्यले भोलि मङ्गलबारदेखि ‘बस’ को व्यवस्था गरिएको मन्त्रालयले स्पष्ट गरेको छ।

शिक्षा मन्त्रालयअन्तर्गतका शिक्षा तथा मानव स्रोत विकास केन्द्रका पदाधिकारीसहित मन्त्री पोखरेल ‘होल्डिङ सेन्टर’ पुगेका हुन्।

यसअघि आइतबार गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा सम्बद्ध मन्त्री सम्मिलित टोलीले ‘होल्डिङ सेन्टर’ को स्थलगत अनुगमन गरी त्यहाँ बस्ने सुकुमवासीको जीवनयापन, उनीहरूले भोगिरहेका समस्या र सरकारी सुविधाका बारेमा जानकारी लिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *