अर्थ र लेखासहित आज चार संसदीय समितिको बैठक बस्दै, बीमा र राहदानी छपाइबारे छलफल हुने
काठमाडौँ। संघीय संसद्का चार वटा संसदीय समितिका बैठकहरू आज बस्दै छन्। संसद् सचिवालयका अनुसार आज अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो। बैठकहरूमा विभिन्न समसामयिक विषय, विधेयक तथा सरकारी निकायका कामकारबाहीबारे गहन छलफल हुने कार्यसूची तय गरिएको छ।
मङ्गलवार बिहान साढे आठ बजे बस्ने अर्थ समितिको बैठकमा नेपाल बीमा प्राधिकरणसँग विभिन्न महत्त्वपूर्ण विषयमा जानकारी लिने कार्यसूची रहेको छ। उक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ मा प्राधिकरणबाट भएगरेका मुख्य-मुख्य कामकारबाही, बीमा क्षेत्रको नियमनमा रहेका नीतिगत एवं कार्यगत समस्या र चुनौतीहरूका बारेमा छलफल हुनेछ। साथै बीमितको हित संरक्षण, बीमा व्यवसायको जोखिम न्यूनीकरणका लागि भएका प्रयासहरू, नेपाल सरकारको स्वामित्वमा रहेका बीमा संस्थान वा कम्पनीहरूको पछिल्लो तीन वर्षको कार्यसम्पादन स्थिति र उच्च कार्यसम्पादनका लागि प्राधिकरणले चालेका कदमहरूबारे विस्तृत समीक्षा गरिनेछ।
यसैगरी बिहान नौ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ। त्यस्तै बिहान साढे आठ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१ का सम्बन्धमा सरोकारवालाहरूसँग छलफल प्रक्रिया अघि बढाइनेछ।
अर्कोतर्फ, राष्ट्रिय चासोको विषयमा केन्द्रित रहने सार्वजनिक लेखा समितिको बैठक पनि आज बिहान नौ बजेका लागि बोलाइएको छ। लेखा समितिको बैठकमा पछिल्लो समय चर्चामा रहेको विद्युतीय राहदानी (ई-पासपोर्ट) छपाइको विषयमा केन्द्रित रहेर छानबिन तथा विविध एजेन्डाहरूमाथि छलफल हुने कार्यसूची रहेको छ।






डिसी नेपाल





Facebook Comment