अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग अवरुद्ध: बिपी र कान्ति लोकपथमा रात्रिकालीन सवारीमा रोक
काठमाडौं। मुलुकभर भइरहेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा प्रमुख राजमार्ग तथा सडक सञ्जालहरू नराम्ररी प्रभावित भएका छन्।
लगातारको प्राकृतिक विपद्का कारण केही सडक खण्डहरू पूर्ण रूपमा ठप्प भएका छन् भने सम्भावित दुर्घटना र जोखिमलाई मध्यनजर गर्दै केही व्यस्त सडकहरूमा रात्रिकालीन सवारी सञ्चालनमा प्रशासनले रोक लगाएको छ।
नेपाल प्रहरीका अनुसार सम्भावित बाढी र पहिरोको उच्च जोखिमलाई दृष्टिगत गरी काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडक खण्डमा रात्रिकालीन यात्रामा कडाइ गरिएको छ।
उक्त सडक खण्डमा हरेक दिन बेलुका ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालन गर्न अर्को सूचना नभएसम्मका लागि पूर्ण प्रतिबन्ध लगाइएको छ भने नागरिकको सहजताका लागि बिहान ४ः०० बजेदेखि बेलुका ६ः०० बजेसम्म मात्र सवारी सञ्चालनको व्यवस्था मिलाइएको छ।
यसैगरी, जोखिमकै कारण कान्ति लोकपथमा पनि अपराह्न ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्मका लागि सबै प्रकारका सवारीसाधन गुड्न नपाउने गरी रोक लगाइएको प्रहरीले जनाएको छ।
यता विभिन्न जिल्लाहरूमा पहिरो र हिलोका कारण सडकहरू पूर्ण रूपमा अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका छन्। इलाम नगरपालिका-९ राजदुवालीस्थित मेची राजमार्गमा अत्यधिक लेदो र हिलो जमेका कारण सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ।
त्यस्तै, अर्घाखाँचीको पाणिनि गाउँपालिका-२ ढुंगेखोलामा माथिबाट ठुला ढुंगाहरू खसेपछि सालझण्डी-ढोरपाटन सडकखण्ड पनि ठप्प बनेको छ। उत्तरी नाका जोड्ने सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ जिरोकिलो र वडा नं २ कोदारी क्षेत्रमा भीषण पहिरोसँगै लेदोसहितको ढुंगा-माटो खसेपछि अरनिको राजमार्गको आवागमन प्रभावित भएको छ।
बागलुङको जैमिनी नगरपालिका-८ बेलबगर क्षेत्रमा खसेको पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको कालीगण्डकी करिडोर पनि अवरुद्ध हुन पुगेको छ। यसका साथै काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-७ घुमाउने, वडा नं ८ गिम्दी तथा वडा नं ९ बिरुवाडाँडा र पिन्थली क्षेत्रमा ठूला-ठूला पहिरो खसेकाले बिपी राजमार्गको सो खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
सडक विभाग र सुरक्षा निकायहरूले अवरुद्ध सडकहरू खुलाउने प्रयास गरिरहेको भए पनि लगातारको वर्षा र पहिरो खस्ने क्रम जारी रहेकाले यात्रा गर्दा विशेष सजगता अपनाउन र सडकको अवस्था बुझेर मात्र निस्कन प्रहरीले अनुरोध गरेको छ।






डिसी नेपाल





Facebook Comment