रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा अनिवार्य पार्टीसँग समन्वय गर्नुपर्ने

डिसी नेपाल
५ साउन २०८३ १५:३२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरूलाई कुनै पनि जिल्ला वा निर्वाचन क्षेत्रमा जाँदा स्थानीय पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्न निर्देशन दिएको छ।

मंगलबार महामन्त्री विपिन कुमार आचार्यद्वारा ५ बुँदे निर्देशन जारी गर्दै पार्टीले बोकेको सुशासन, जवाफदेहिता र नागरिक केन्द्रित राजनीतिको आधारभूत मर्मलाई संस्थागत गर्न सङ्घीय संसद् र भुइँ तहका नागरिकबिच जीवन्त संवाद अपरिहार्य रहेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन क्षेत्र तथा जिल्ला नागरिकहरूमाझ केवल औपचारिकता वा व्यक्तिगत जनसम्पर्कमा मात्र सीमित नरही, पार्टीको राजनीतिक दृष्टिकोणलाई विस्तार गर्ने, सङ्गठनलाई ऊर्जावान् बनाउने र जन–अभिमतलाई संसद्‌को एजेन्डामा रूपान्तरण गर्ने ‘रणनीतिक अभियान’ बन्नुपर्दछ भन्ने पार्टीको स्पष्ट मान्यता छ।’

सांसदहरूको प्रभावकारी भूमिका र पार्टी सङ्गठनको चुस्तता एक–अर्काका पूरक भएको ठहर गर्दै रास्वपाले सुव्यवस्थित र समन्वयात्मक प्रयत्नले मात्र दलको संस्थागत परिपक्वतालाई उचाइमा पुर्‍याउने र जनताप्रतिको जवाफदेहितालाई थप कसिलो बनाउने दिशा निर्देशन गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *