पछिल्लो दशक देश र कांग्रेसका लागि ‘अँध्यारो र काला दिन’ हुन् : सभापति गगन थापा

डिसी नेपाल
५ साउन २०८३ १७:११

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०७२ देखि २०८२ सालसम्मको दशक नेपाली कांग्रेस र मुलुक दुवैका लागि ‘अँध्यारो’ र ‘काला’ दिन भएको टिप्पणी गरेका छन्।

मंगलबार काठमाडौंको कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा कांग्रेस नेता गुरुराज घिमिरेद्वारा लिखित ‘बुद्ध, बीपी, आजका नेता र लिलिपुटका लघुमानव’ पुस्तकको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले उक्त टिप्पणी गरेका हुन्।

उनले यस अवधिमा पार्टीभित्र र राष्ट्रिय राजनीतिमा सिद्धान्तभन्दा केवल सत्ता र शक्तिको राजनीति हावी भएको बताए। राजनीतिक दलका नेताहरूले सत्ता र शक्तिका लागि नागरिकका समस्या र राष्ट्रिय मुद्दाहरूमाथि तिलाञ्जली दिएको उनको आरोप छ।

‘२०७२ सालदेखि २०८२ सालसम्मको १० वर्ष नेपाली कांग्रेसको जीवनमा पनि र हाम्रो राष्ट्रिय जीवनमा पनि ती अँध्यारो वर्षहरू भए, ती काला दिनहरू भए, जसभित्र केवल सत्ता र शक्ति बाहेक अरू केही देखिएन,’ उनले भने। आफू सधैँ सिद्धान्तका पक्षमा अडिग रहेर संघर्ष गर्दै आएको बताउँदै उनले पछिल्ला १० वर्षको राजनीतिक अभ्यासले नयाँ पुस्तामा राजनीतिप्रति सकारात्मक सन्देश दिन नसकेको उल्लेख गरे।

कार्यक्रममा सभापति थापाले पुराना नेताहरूले बनाएको जस्तो पुरानै गौरवशाली कांग्रेस पार्टी फेरि फर्काउन सक्छौँ कि सक्दैनौँ भनेर गम्भीर प्रश्न समेत गरेका छन्। उनले गणेशमान सिंहले लौरो टेकेर काठमाडौंमा हिँड्दा सिंगो काठमाडौं जुरुक्क उचालिने जस्तो ऐतिहासिक र बलियो कांग्रेस अब बनाउन सकिन्छ कि सकिँदैन भन्दै चिन्ता व्यक्त गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *