हुवावेले सार्वजनिक गर्‍यो सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका दुई नयाँ प्रविधि

डिसी नेपाल
६ साउन २०८३ १३:५९

काठमाडौँ । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर, भरपर्दो र प्रभावकारी बनाउने आवश्यकता बढिरहेका बेला हुवावेले सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणसम्बन्धी दुई नयाँ प्रविधि सार्वजनिक गरेको छ।

कम्पनीले आज यहाँ आयोजित एक विशेष कार्यक्रमका बिच ‘फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा’ (पीभी) र ‘लुटेरा ग्रिड-फर्मिङ विद्युत् ऊर्जा भण्डारण प्रणाली’ (ईएसएस) सार्वजनिक गरेको हो।

कम्पनीका अनुसार फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा ठुला क्षमताका सौर्य आयोजनाहरूलाई लक्षित गरी विकसित गरिएको एक अत्याधुनिक डिजिटल प्रणाली हो। यसले कृत्रिम बौद्धिकता (एआई) र डिजिटल प्रविधिको प्रयोगमार्फत सौर्य ऊर्जा उत्पादनको दक्षता बढाउने, सञ्चालन तथा व्यवस्थापनलाई सहज बनाउने र विद्युत् उत्पादनलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ।

त्यसैगरी लुटेरा ग्रिड–फर्मिङ विद्युत् ऊर्जा भण्डारण प्रणाली (ईएसएस) ले उत्पादन भएको विद्युत् आवश्यकताअनुसार भण्डारण गर्ने, माग बढेका बेला पुनः आपूर्ति गर्ने तथा विद्युत् प्रणालीको स्थायित्व कायम राख्न मद्दत पुर्‍याउने कम्पनीले जनाएको छ। नवीकरणीय ऊर्जाको उत्पादन मौसम र समयअनुसार घटबढ हुने भएकाले यस्तो ऊर्जा भण्डारण प्रविधि प्रणाली सन्तुलनका लागि अत्यन्त उपयोगी हुने बताइएको छ।

नेपालमा जलविद्युत्सँगै सौर्य ऊर्जा प्रवर्द्धनको प्रयास भइरहेका बेला राष्ट्रिय ग्रिडलाई सन्तुलित र भरपर्दो बनाउन ऊर्जा भण्डारण प्रविधिको भूमिका महत्त्वपूर्ण मानिएको छ। विशेषगरी सौर्य ऊर्जा उत्पादन दिनको समयमा केन्द्रित हुने र माग बढी हुने समय (पिक आवर) फरक पर्ने भएकाले यस्ता ऊर्जा भण्डारण प्रणालीले विद्युत् व्यवस्थापनमा ठुलो सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

उक्त कार्यक्रममा नेपाल उद्योग परिसङ्घ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डे, हुवावे डिजिटल पावर साउथ एसियाका निर्देशक यु जियानलोङ, हुवावे नेपालका प्रमुख कार्यकारी अधिकृत चेस्टर चेन तथा हुवावे नेपाल डिजिटल पावरका निर्देशक रोहितचन्द्र शाहलगायत ऊर्जा विकासकर्ता र नवीकरणीय ऊर्जा क्षेत्रका सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *