जनकपुरमा प्रचण्डले भने- मधेशमा बलियो पार्टी नबने कम्युनिस्ट आन्दोलन दुर्घटनामा पर्छ
जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेश प्रदेशमा सुदृढ पार्टी निर्माण गर्न नसकिए देश र समग्र कम्युनिस्ट आन्दोलनले ठूलो दुर्घटना व्यहोर्नुपर्ने खतरा रहेको बताएका छन्।
जनकपुरधाममा आयोजित मधेश प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण तथा एकता भेला समारोहलाई सम्बोधन गर्दै उनले मधेश प्रदेश जनसंख्या र विकासको दृष्टिकोणले अत्यन्त सम्भावना र चुनौती बोकेको प्रदेश भएकाले यहाँको राजनीतिक संगठनलाई विशेष प्राथमिकतामा राखिएको स्पष्ट पारे।
उनले मधेशमा पार्टीलाई बलियो बनाउन सकिए आगामी दिनमा पार्टी, मधेश र समग्र मधेश आन्दोलनका लागि सशक्त राजनीतिक शक्ति निर्माण गर्न सकिने उल्लेख गरे। तर, त्यसो गर्न नसकिए देश र कम्युनिस्ट आन्दोलनले गम्भीर क्षति बेहोर्नुपर्ने अवस्था आउन सक्ने उनको चेतावनी थियो।
‘मधेशमा पार्टी राम्रो बनाउन सकियो भने आउने दिनमा पार्टी, मधेश र समग्र मधेश आन्दोलनको लागि एउटा बलियो शक्ति निर्माण गर्न सकिन्छ,’ उनले भने, ‘मधेशमा राम्रो पार्टी बनाउन सकिएन भने यो देशले पनि र कम्युनिस्ट आन्दोलनले निकै ठूलो दुर्घटना खेप्नु पर्ने खतरा हामीले देखेका छौं।’
प्रचण्डले वर्तमान अवस्थामा नेकपाले मधेशमा पार्टी निर्माणलाई उच्च प्राथमिकतामा राखेको बताउँदै संगठन विस्तार, जनसम्पर्क वृद्धि र कार्यकर्तालाई सक्रिय बनाउने अभियानलाई प्रभावकारी ढंगले अघि बढाइने जानकारी दिए।
कार्यक्रममा उनले हालै निर्वाचित मधेश प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरूलाई शपथग्रहण गराएका छन् भने पार्टीका नेताकार्यकर्तासँग विभिन्न चरणमा अन्तरक्रिया गरी प्राप्त सुझावहरूलाई समेटेर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।






डिसी नेपाल





Facebook Comment