बन्द भएको २६ वर्षपछि व्युँतिँदै हेटौंडा कपडा उद्योग, सेनाले थाल्यो मेसिन मर्मत र सरसफाइ

दुई महिनाभित्र परीक्षण उत्पादन सुरु गरिँदै

डिसी नेपाल
६ साउन २०८३ ११:३७

काठमाडौं। एक समय नेपाली औद्योगिक विकास र स्वदेशी उत्पादनको प्रमुख परिचय बनेको हेटौंडा कपडा उद्योगको आफ्नै ऐतिहासिक पहिचान छ।उद्योगको नाम सुन्नासाथ धेरै नेपालीको मनमा अझै पनि ‘स्वदेशमा उत्पादित गुणस्तरीय कपडा’ को छवि ताजै छ।

स्वदेशमै कपडा उत्पादन गरी बजारको माग पूरा गरेको हेटौंडा कपडा उद्योग निरन्तर सञ्चालनमा रहेको भए नेपालले आजको जस्तो विदेशी कपडामाथिको उच्च निर्भरता झेल्नुपर्ने अवस्था आउने थिएन भन्ने सहजै अनुमान गर्न सकिन्छ।

तर, यो समस्या कपडा क्षेत्रमा मात्र सीमित छैन। पछिल्ला वर्षहरूमा नेपाल दैनिक उपभोग्य वस्तुदेखि औद्योगिक सामग्रीसम्म धेरै उत्पादनका लागि आयातमै निर्भर बन्दै गएको छ।

स्वदेशी उद्योगहरू बन्द हुनु, उत्पादन क्षमता विस्तार नहुनु, लगानी तथा नीतिगत चुनौती, बढ्दो उत्पादन लागत र विदेशी वस्तुसँगको तीव्र प्रतिस्पर्धाका कारण घरेलु उद्योगहरू कमजोर बनेका छन्।

राजनीतिक अस्थिरता र फितलो व्यवस्थापनका कारण स्वदेशी उत्पादनको खम्बा मानिएको हेटौँडा कपडा उद्योग आज अन्धकारमा रुमलिएको छ। यसबाट हजारौं मानिसको रोजगार मात्र खोसिएन, उद्योगको ऐतिहासिक अस्तित्व नै हराउने हो कि भन्ने चिन्तासमेत थपिएको छ।

यसैबीच, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न तीव्रताका साथ तयारी भइरहेको दाबी गरेको छ। उद्योग मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्र सुवेदीका अनुसार मन्त्रालयले प्रारम्भिक अध्ययन गरिसकेको छ भने नेपाली सेनाले पनि छुट्टै प्राविधिक अध्ययन सम्पन्न गरिसकेको छ।

सोही अध्ययनका आधारमा उद्योग परिसरको सरसफाइ, निरीक्षण तथा उत्पादनका लागि आवश्यक पूर्वतयारी गर्न अर्थ मन्त्रालयबाट सैनिक सामग्री उत्पादन निर्देशनालयका लागि ३३ लाख विनियोजन गरिएको छ।

प्रवक्ता सुवेदीले भने, “मन्त्रालयले सानो अध्ययन गरायो भने नेपाली सेनाले पनि अध्ययन गर्‍यो। तत्काललाई सरसफाइलगायत पूर्वतयारीका लागि उहाँहरूले बजेट माग्नुभएको थियो। सोहीअनुसार अर्थ मन्त्रालयबाट ३३ लाख विनियोजन भइसकेको छ। अहिले उत्पादनको पूर्वतयारीका कामहरूअन्तर्गत अन्वेषण र सरसफाइदेखि लिएर मेसिनहरूलाई सञ्चालनयोग्य (कन्डिसनमा ल्याउने) बनाउने काम भइरहेको छ।”

उद्योग मन्त्रालयअन्तर्गत रहेको सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत अहिले उत्पादनस्थलको सरसफाइ र उपकरणको परीक्षण भइरहेको जानकारी दिँदै उनले हाल रहेकै मेसिनहरू प्रयोग गरेर परीक्षण उत्पादन (टेस्ट प्रोडक्सन) सुरु गर्ने तयारी भइरहेको बताए।

हाल प्रयोगमा रहेका मेसिन पुराना भएकाले उत्पादनको गति, लम्बाइ, चौडाइ तथा गुणस्तर सुधार गर्न थप आधुनिक उपकरण आवश्यक पर्न सक्ने उनको भनाइ छ। यद्यपि त्यससम्बन्धी निर्णय दोस्रो चरणको प्राविधिक अध्ययनपश्चात् मात्र हुने उनले स्पष्ट पारे।

प्रवक्ता सुवेदीले बुटवल धागो कारखानालाई पुनः सञ्चालन गर्ने विषय पनि अध्ययनकै चरणमा रहेको जानकारी दिए। अर्थ मन्त्रालयले अघि बढाएको अध्ययनले उद्योगको सम्पत्ति र दायित्वको विस्तृत विश्लेषण गरी कुन मोडलबाट सञ्चालन गर्ने भन्नेबारे सिफारिस गर्नेछ।

त्यसपछि अर्थमन्त्रीको अध्यक्षतामा बस्ने बैठकले आवश्यक औपचारिक निर्णय लिनेछ। यसका लागि दोस्रो चरणको अध्ययन बाँकी नै रहेको उनले बताए। “बुटवल धागो उद्योगका बारेमा पनि गहन अध्ययन भइरहेको छ।

सम्पत्ति र दायित्वको विश्लेषण गरी कुन मोडलबाट चलाउने भन्ने सिफारिस आएपछि अर्थमन्त्रीज्यूको अध्यक्षतामा हुने बैठकले उपयुक्त निर्णय लिनेछ,” उनले थपे।

यसैगरी, बर्दियास्थित कपास विकास समितिको पनि प्रारम्भिक अध्ययन सम्पन्न भएको मन्त्रालयले जनाएको छ। ठूलो परिमाणमा कपास उत्पादन विस्तार गर्ने विषय भने कृषि मन्त्रालयको क्षेत्राधिकारभित्र पर्ने भएकाले त्यसतर्फ पनि आवश्यक समन्वय र थप पहल हुने अपेक्षा गरिएको छ।

पहिलो चरणमा हाल उपलब्ध मेसिनहरूबाटै सेना, प्रहरी तथा अन्य सार्वजनिक निकायका कर्मचारीहरूका लागि आवश्यक मापदण्डअनुसारका कपडा उत्पादन गर्ने लक्ष्य राखिएको छ।

परीक्षण उत्पादन सफल भएपछि मात्र थप विस्तार, नयाँ उपकरण खरिद तथा दीर्घकालीन सञ्चालन मोडलबारे अन्तिम निर्णय गरिनेछ। प्रवक्ता सुवेदीले भने, “अहिले भइरहेका मेसिनहरूबाट सार्वजनिक पदमा रहेर काम गर्ने आर्मी, प्रहरीहरूलाई हुने खालका कपडा बनाउने प्रयास भइरहेको छ। टेस्ट प्रोडक्सन सफल भएपछि बल्ल अरू रणनीतिक कदमबारे भन्न सकिन्छ।”

यसैबीच, असार ३० गते शनिबार हेटौंडा कपडा उद्योग सञ्चालनबारे प्रतिवेदन अध्ययन कार्यदलले उद्योगमन्त्री गौरीकुमारी यादवलाई आफ्नो प्रतिवेदन बुझाएको थियो। तत्काल परीक्षण उत्पादन गर्ने र थप रणनीतिक योजनासहित पूर्ण क्षमतामा सञ्चालन गर्ने स्पष्ट खाकासहितको प्रतिवेदन कार्यदलले मन्त्रीसमक्ष पेस गरेको हो।

उद्योग मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखाका प्रमुख रामबन्धु सुवेदीको संयोजकत्वमा गठित कार्यदलले प्रतिवेदन बुझाउनुअघि नै अर्थ मन्त्रालयबाट विनियोजित बजेटअनुसार नेपाली सेनाले मेसिन मर्मतको काम थालिसकेको थियो।

प्रतिवेदनमा उद्योग पुनः सञ्चालनका लागि चालिएका कदम, हालसम्मको प्रगति र आगामी कार्यदिशाबारे विस्तृत खाका समेटिएको छ। मन्त्रालयका अनुसार सरकारको निर्देशनबमोजिम नेपाली सेनाले आगामी दुई महिनाभित्र उद्योगबाट परीक्षण उत्पादन सुरु गरिसक्नुपर्ने म्याद पाएको छ र सोहीअनुसार तीव्र रूपमा काम अगाडि बढाइएको छ।

यसका लागि अर्थ मन्त्रालयले असार पहिलो साता नै नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयलाई ३३ लाख बजेट निकासा गरिसकेको थियो।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा वि.स. २०३२ सालमा हेटौंडा कपडा उद्योगको स्थापना भएको थियो। वि.स. २०३५ सालदेखि व्यावसायिक रूपमा औपचारिक उत्पादन सुरु गरेको यस उद्योगले केही दशक देशको कपडा आवश्यकता पूरा गर्‍यो।

तर, निरन्तरको राजनीतिक हस्तक्षेप, अस्थिरता र कमजोर व्यवस्थापनका कारण स्थापनाको १९ वर्षपछि वि.स. २०५७ सालदेखि उद्योग पूर्ण रूपमा बन्द हुन पुग्यो। त्यसयता उक्त कपडा उद्योग पुनः सञ्चालनमा ल्याउन पटक-पटक प्रयास भए पनि ती प्रयासहरूले सार्थकता पाउन सकेका थिएनन्।

यसपटक भने वर्तमान सरकारको विशेष पहलमा उक्त ऐतिहासिक कपडा उद्योग पुनर्जन्म पाउने मोडमा पुगेको छ। यसका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त रूपमा उद्योग परिसरको सरसफाइ, झाडी सफाइ तथा पुराना मेसिनरीको मर्मत सम्भारको कामलाई द्रुत गतिमा अघि बढाइरहेका छन्।

उद्योग सञ्चालनमा आएपछि पहिलो चरणमा सरकारी कर्मचारीका लागि आवश्यक बर्दी र विद्यालयका पोशाकहरू उत्पादन गर्ने सरकारको प्राथमिक लक्ष्य रहेको छ।

पार्वती भण्डारी, नेपाल न्यूज बैंक




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *