अमेरिकामा औषधिमा भारी कर लगाइने

डिसी नेपाल
६ साउन २०८३ १४:५०

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेनेरिक औषधि आयातमा नयाँ भन्सार महसुल नीतिको घोषणा गरेका छन्। राष्ट्रपति ट्रम्पका अनुसार आगामी सन् २०२६ अगस्ट १ देखि अमेरिकामा आयात हुने सबै प्रकारका जेनेरिक औषधिहरूमा आगामी दुई वर्षसम्म कुनै पनि भन्सार महसुल लागू हुने छैन।

यद्यपि, दुई वर्षको सहुलियत अवधि सकिएपछि सन् २०२८ देखि एक वर्षका लागि १०० प्रतिशत र त्यसपछि २०० प्रतिशतसम्म आयात शुल्क असुल गरिनेछ। सामाजिक सञ्जालमार्फत यो निर्णय सार्वजनिक गर्दै ट्रम्पले औषधि उत्पादक कम्पनीहरूलाई अमेरिकामै आफ्ना उत्पादन प्लान्टहरू स्थापना गर्न प्रोत्साहन गर्ने उद्देश्यले यो नीति ल्याइएको स्पष्ट पारेका छन्। तोकिएको समयसीमाभित्र अमेरिकामै उत्पादन सुरु नगर्ने विदेशी कम्पनीहरूले उच्च भन्सार महसुलको सामना गर्नुपर्ने चेतावनी उनले दिएका छन्।

राष्ट्रपति ट्रम्पले यो फैसला अमेरिकी नागरिकहरूको हितको रक्षा गर्न र देशभित्रै औषधि निर्माण क्षमता अभिवृद्धि गर्नका लागि लिइएको बताएका छन्। यद्यपि, यो नयाँ महसुल नीति केवल जेनेरिक औषधिहरूका लागि मात्र लागू हुनेछ। प्याटेन्ट प्राप्त, ब्रान्ड गरिएका तथा नवीन/अनुसन्धानमूलक औषधिहरूको आयातमा हाल कायम रहेका विद्यमान नीति तथा शुल्कमा भने कुनै परिवर्तन गरिएको छैन।

भारत विश्वमै जेनेरिक औषधिको सबैभन्दा ठूलो निर्यातक देश हो र अमेरिका भारतीय जेनेरिक औषधिका लागि सबैभन्दा ठूलो बजार मानिन्छ। यस्तो अवस्थामा आगामी दुई वर्षको सहुलियतपछि सन् २०२८ देखि १०० प्रतिशत र त्यसपछि २०० प्रतिशतसम्म भन्सार महसुल लागू हुँदा भारतीय औषधि उत्पादक कम्पनीहरूको लागत अत्यधिक बढ्ने देखिन्छ।

यस नीतिका कारण भारतीय कम्पनीहरूमाथि अमेरिकामै आफ्ना उत्पादन एकाइहरू स्थापना गर्न ठूलो आर्थिक र रणनीतिक दबाब सिर्जना हुनेछ। साथै, अमेरिकी बजारमा भारतीय जेनेरिक औषधिहरूले प्राप्त गर्दै आएको मूल्य सम्बन्धी प्रतिस्पर्धात्मक पहुँच समेत गम्भीर रूपमा प्रभावित हुन सक्ने विश्लेषण गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *