हिमालय मोटर्सद्वारा म्याक्सस इटेरन ९ कम्फर्ट पिकअप नेपालमा सार्वजनिक, सुरुवाती मूल्य ८८ लाख

डिसी नेपाल
७ साउन २०८३ १३:२८
No ads found for this position

काठमाडौं। चिनियाँ एसएआइसी समूहअन्तर्गतको म्याक्सस सवारीसाधनको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक हिमालय अर्गनाइजेसनअन्तर्गतको हिमालय मोटर्स प्रालिले शक्तिशाली एवं आकर्षक विद्युतीय फोर-ह्विल ड्राइभ पिकअप ‘म्याक्सस इटेरन ९ कम्फर्ट’ नेपाली बजारमा सार्वजनिक गरेको छ।

कम्पनीले यस गाडीको विशेष सुरुवाती मूल्य ८८ लाख रुपैयाँ तोकेको छ, जुन पहिलो ५० जना ग्राहकका लागि मात्र लागू हुनेछ। यसअघि कम्पनीले एक वर्षअघि यसै मोडलको प्रिमियम संस्करण सार्वजनिक गरिसकेको छ, जसको हालको मूल्य १ करोड २८ लाख रुपैयाँ रहेको छ।

शक्तिशाली कार्यक्षमता, लामो यात्रा दूरी (रेन्ज), आरामदायी यात्रा र व्यावहारिक प्रयोगलाई ध्यानमा राखेर तयार पारिएको यो पिकअप दैनिक आउजाउ, लामो दूरीको यात्रा, साहसिक भ्रमण तथा व्यावसायिक प्रयोजनका लागि उपयुक्त रहेको जनाइएको छ।

अमेरिकी मापदण्डको आकारमा निर्मित यस पिकअपमा १०२.२ किलोवाट-घण्टा क्षमताको ब्याट्री जडान गरिएको छ, जुन नेपाल आयात हुने विद्युतीय सवारीसाधनहरूमध्ये सबैभन्दा ठूलो क्षमताको ब्याट्री प्याक हो।

यसले एकपटक पूर्ण चार्ज गर्दा एनइडीसी मापदण्डअनुसार ५६० किलोमिटरसम्मको यात्रा दूरी प्रदान गर्दछ। यसमा ११५ किलोवाटसम्मको प्रत्यक्ष विद्युत (डिसी) फास्ट चार्जिङ प्रणाली रहेको छ, जसबाट करिब ४२ मिनेटमा ब्याट्रीलाई २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।

यस पिकअपमा अगाडि १२५ किलोवाट र पछाडि २०० किलोवाट क्षमताका दुईवटा विद्युतीय मोटर रहेका छन्। यसले कुल ७०० न्युटन-मिटर टर्क उत्पादन गर्दछ भने ५.८ सेकेन्डमै शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ। यसको अधिकतम गति क्षमता १९० किलोमिटर प्रतिघण्टा रहेको छ।

हिमालय मोटर्स प्रालिका अनुसार यस पिकअपमा २६० मिलिमिटरको उच्च ग्राउन्ड क्लियरेन्स रहेको छ। उच्च हिमाली तथा पहाडी कच्ची सडक, हिलो र ढुङ्गे बाटोमा चलाउन सहज हुने गरी यसमा विभिन्न सडक अनुकूलन मोडलहरू (अल-टेरेन सिस्टम) जडान गरिएका छन्।

यस गाडीको अगाडिको उकालो चढ्ने कोण (एप्रोच एंगल) २९ डिग्री र ओरालो झर्ने कोण (डिपार्चर एंगल) २५ डिग्री रहेको छ। गाडीमा १,०५० किलोसम्म सामान बोक्न सकिने क्षमता छ, जुन यस वर्गकै सबैभन्दा बढी हो। यसमा अगाडि दोहोरो विशबोन र पछाडि बहु-लिङ्क स्वतन्त्र सस्पेन्सन प्रणाली रहेकाले नेपालका विषम सडकहरूमा पनि आरामदायी यात्रा प्रदान गर्छ।

पाँचजना यात्रुका लागि तयार पारिएको यस गाडीको क्याबिन फराकिलो र अत्याधुनिक छ। यसमा १२.३ इन्चको डिजिटल सूचना पाटो (इन्स्ट्रुमेन्ट क्लस्टर) र १२.३ इन्चको केन्द्रीय सुचना तथा मनोरञ्जन स्क्रिन गरी दुईवटा स्क्रिन उपलब्ध छन्।

जसमा एप्पल कारप्ले र एन्ड्रोइड अटो, स्वचालित वातानुकूलन प्रणाली, छ तरिकाले मिलाउन सकिने विद्युतीय चालक सिट, बहुकार्यकारी स्टेरिङ ह्विल, पछाडिका यात्रुका लागि छुट्टै हावा आउने प्वाल (एसी आउटलेट), युएसबी तथा टाइप-सी चार्जिङ पोर्ट, साँचो बिना नै गाडी खोल्न र स्टार्ट गर्न सकिने प्रविधि, स्वचालित बत्ती तथा वाइपर, र बाहिरी विद्युतीय उपकरण चलाउन मिल्ने (भेहिकल-टु-लोड) सुविधासमेत उपलब्ध गराइएको छ।

सुरक्षाका दृष्टिले म्याक्सस इटेरन ९ ले प्रतिष्ठित ‘युरो एनक्याप’ बाट पाँच-तारे (फाइभ-स्टार) सुरक्षा मान्यता प्राप्त गरेको छ। नेपालमा आयातित कमै सवारीसाधनले मात्र यो स्तरको सुरक्षा मान्यता पाएका छन्, जसले गाडीको बलियो बनोट र यात्रु सुरक्षामा अपनाइएको आधुनिक प्रविधिलाई पुष्टि गर्छ।

म्याक्ससजस्तो विश्वप्रसिद्ध कम्पनीको विद्युतीय पिकअपलाई नेपालमा आकर्षक मूल्यमा उपलब्ध गराउन पाउँदा खुसी लागेको प्रबन्ध निर्देशक सौरभ थापाले बताए।

उनका अनुसार कम्पनीले आगामी सवारी प्रदर्शनी (अटो एक्स्पो) मा यही कम्पनीको विलासी माइक्रोबससमेत सार्वजनिक गर्ने तयारी गरेको छ। बिक्रीपछिको सेवालाई विस्तार गर्दै लगेको कम्पनीको हाल काठमाडौँ र पोखरामा सोरुम रहेको छ भने देशका छ प्रमुख सहरहरूमा मर्मत सम्भार केन्द्रहरू सञ्चालनमा रहेका छन्।

हिमालय अर्गनाइजेसनले विगत १० वर्षदेखि फोर्स मोटर्सको आधिकारिक वितरकका रूपमा काम गर्दै आएको छ भने केही दिनमै चीनमा निर्मित डोङफेङ कम्पनीका बसहरू पनि नेपाली बजारमा ल्याउने जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *