२३औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते हुने, मुख्य प्रायोजकमा गोल्छा ग्रुप निरन्तर
काठमाडौं। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना गर्दै आएको प्रतिष्ठित ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८३’ को २३औँ संस्करण आउँदो भदौ १८ गते हुने भएको छ। काठमाडौँमा बुधबार आयोजित एक विशेष समारोहका बीच मञ्चले अवार्ड कार्यक्रम नेपाल पुलिस क्लबको ‘द ब्लु पभिलियन’ मा आयोजना गरिने औपचारिक घोषणा गरेको हो।
समारोहका क्रममा मञ्चले मुख्य प्रायोजक गोल्छा ग्रुपसँग प्रायोजन सम्झौता नवीकरणसमेत गरेको छ। सम्झौता पत्रमा मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले हस्ताक्षर गरेका छन्।
अघिल्लो वर्ष दुई पक्षबीच भएको पाँच वर्षको सम्झौताअनुसार यो दोस्रो वर्ष चलिरहेको हो। गोल्छा ग्रुप लगातार १९औँ पटक यस अवार्डको मुख्य प्रायोजकका रूपमा जोडिएको छ।
कार्यक्रममा गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले लगातार १९ वर्षसम्म स्पोर्ट्स अवार्डसँग जोडिन पाउँदा खुसी र गर्व महसुस भएको बताउँदै नेपाली खेलकुदको स्तरोन्नति र खेलाडीको प्रोत्साहनका लागि कम्पनी निरन्तर लागिपर्ने प्रतिबद्धता जनाए।
यस्तै, मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले नेपालको प्रतिष्ठित व्यावसायिक घराना गोल्छा ग्रुपसँगको निरन्तर सहकार्यले अवार्डलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सहज भएको भन्दै धन्यवाद व्यक्त गरे।
मञ्चका महासचिव अञ्जन खड्काका अनुसार यस वर्ष कुल नौ विधामा अवार्ड प्रदान गरिनेछ। जसमा वर्षका उत्कृष्ट खेलाडी (पुरुष), वर्षका उत्कृष्ट खेलाडी (महिला), युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड रहेका छन्।
वर्षका उत्कृष्ट पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाको मनोनयन (प्रत्येक विधामा पाँच-पाँच जना) केही दिनमै सार्वजनिक गरिनेछ भने अन्य विधाहरूको विजेता घोषणा अवार्ड कार्यक्रमकै दिन गरिनेछ।
पुरस्कार स्वरूप वर्षका उत्कृष्ट पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेतालाई पल्सर मोटरसाइकल प्रदान गरिनेछ भने अन्य विधाका विजेता तथा सम्मानित व्यक्तित्वहरूलाई जनही एक लाख रुपैयाँ प्रदान गरिने मञ्चले जनाएको छ। कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्न अध्यक्ष निरञ्जन अधिकारीको अध्यक्षतामा मूल आयोजक समिति र विभिन्न उपसमितिहरूसमेत गठन गरिएका छन्।
स्मरण रहोस्, गत वर्षको अवार्डमा पुरुषतर्फ दीपेन्द्र सिंह ऐरी (क्रिकेट), महिलातर्फ एरिका गुरुङ (कराते), युवातर्फ पुजा महतो (क्रिकेट) र प्रशिक्षकतर्फ कविराज नेगी लामा (पारा तेक्वान्दो) ले उपाधि जितेका थिए। यस्तै, हिमाल सुनारी (भलिबल) ले पिपल्स च्वाइस, तुलसी कुमार गुरुङले स्पेसल अवार्ड, प्रभा आङदेम्बेले पारा एथलिट सम्मान, राना हसन (बङ्गलादेश) ले एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड र खड्ग रानाभाटले लाइफटाइम एचिभमेन्ट अवार्ड प्राप्त गरेका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment