मिस नेपालको स्टेजले आफूप्रतिको आत्मविश्वास बढाएको छ: कशिश सुब्बा लिम्बू
काठमाडौँ । ‘मिस नेपाल २०२६’ की प्रतियोगी कशिश सुब्बा लिम्बूले मिस नेपालको यात्रा आफ्नो जीवनकै सबैभन्दा सुन्दर र परिवर्तनकारी अनुभव बनेको बताएकी छन्। ग्रान्ड फिनाले नजिकिँदै गर्दा उनले यस यात्राले आफूलाई चुनौतीहरूको सामना गर्न सिकाउनुका साथै आत्मविश्वास बढाएर परिपक्व व्यक्तित्वका रूपमा विकास गरेको बताएकी हुन्।
आफ्नो अनुभव साझा गर्दै कशिशले मिस नेपालको मञ्चले आफूलाई चिन्ने र आफ्नै क्षमतामाथि विश्वास गर्ने अवसर प्रदान गरेको उल्लेख गरिन्। “मिस नेपालको स्टेजले आफूप्रतिको आत्मविश्वास बढाएको छ। म केही गर्न सक्छु भन्ने दृढ विश्वास यही यात्राले दिएको छ,” उनले भनिन्।
भविष्यमा फेसन मोडल, फेसन स्टाइलिस्ट र फेसन डिजाइनर बन्ने लक्ष्य बोकेकी कशिशले मिस नेपालको अनुभव आफ्नो आगामी यात्राका लागि महत्त्वपूर्ण आधार बनेको बताइन्। यस प्रतियोगिताले व्यक्तित्व विकास, नेतृत्व क्षमता र जिम्मेवारीबोधलाई अझ मजबुत बनाएको उनको भनाइ छ।
फिनाले नजिकिँदै गर्दा उनले पूर्ण आत्मविश्वास र कृतज्ञताका साथ अन्तिम प्रतिस्पर्धाको तयारी गरिरहेको जनाएकी छन्। साथै, अहिलेसम्म आफूलाई साथ, समर्थन र मतदान गर्ने सबै शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दै उनले फिनालेमा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धतासमेत जनाएकी छन्।
‘मिस नेपाल २०२६’ को ग्रान्ड फिनाले आगामी अगस्ट १ मा आयोजना हुँदैछ।





No ads found for this position


डिसी नेपाल
Facebook Comment