गृह प्रशासन र सुरक्षा निकायको प्रभावकारी परिचालनपछि सुनसरी घटना साम्य हुँदै

तराईका संवेदनशील जिल्लामा प्रहरीका उच्च अधिकृत तैनाथ

डिसी नेपाल
१५ साउन २०८३ १८:०९

काठमाडाैं। सुनसरीको देवानगञ्ज घटनापछि पूर्वी तराईमा उत्पन्न तनावग्रस्त परिस्थिति विस्तारै सामान्यीकरणतर्फ फर्किन थालेको छ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी तीनवटै सुरक्षा निकायको एकीकृत समन्वय र प्रभावकारी परिचालनपछि क्षेत्रको शान्ति सुव्यवस्था क्रमशः सहज बन्दै गएको सुरक्षा अधिकारीहरूले जनाएका छन्।

नेपाली सेनाको पूर्वी पृतनापति गौरवकुमार केसी तथा सशस्त्र प्रहरी बलका कोशी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक मनिष थापाले स्थिति नियन्त्रणमा आउँदै गरेको र सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा फौजलाई ‘हाई अलर्ट’ मा राखिएको जानकारी दिएका छन्।

गृहमन्त्री सुधन गुरुङ आफैँ घटनास्थल कप्तानगञ्ज पुगेर पीडित परिवारसँग वार्ता गरेपछि स्थिति सामान्य बनाउन ठूलो सहयोग पुगेको सुरक्षा अधिकारीहरूको विश्लेषण छ। मन्त्री र पीडित पक्षबीच गएराति सातबुँदे सहमति भएपछि मृतकको शव बुझ्ने र अन्त्येष्टि गर्ने प्रक्रिया सुरु भइसकेको छ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले गृह सचिवको अध्यक्षतामा धार्मिक समुदायका अगुवासँग छलफल गरी सामाजिक सद्भाव कायम राख्ने प्रयास निरन्तर जारी राखिएको बताएका छन्। यस्तै, पछिल्ला घटनाको निष्पक्ष छानबिनका लागि गठित समितिले पनि आफ्नो काम अघि बढाएको छ।

तनाव साम्य हुँदै गए पनि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सुनसरी, धनुषा, सिरहा र पर्सालगायत जिल्लाका केही प्रभावित क्षेत्रमा अझै कर्फ्यू जारी राखिएको छ।

अवस्थालाई पूर्ण रूपमा नियन्त्रणमा राख्न, सूचना संकलन र विश्लेषण तीव्र पार्न तथा स्थानीय प्रहरीलाई मार्गदर्शन गर्न नेपाल प्रहरीले उच्च अधिकृतहरूलाई तराई तथा मधेशका विभिन्न जिल्लाहरूमा खटाएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिएका छन्।

प्रहरी महानिरीक्षकको सचिवालयका अनुसार प्रहरी अतिरिक्त महानिरीक्षकहरू सिद्धीविक्रम शाहलाई बाँके, हिमालयकुमार श्रेष्ठलाई मधेश प्रदेश, उमाप्रसाद चतुर्वेदीलाई कपिलवस्तु र ईश्वर कार्कीलाई कोशी प्रदेश तथा सुनसरीको जिम्मेवारी तोकिएको छ। त्यसैगरी प्रहरी नायब महानिरीक्षकद्वय दिनेशकुमार आचार्यलाई सिरहा र अविनारायण काफ्लेलाई सप्तरी खटाइएको छ।

त्यस्तै स्थिति सामान्यीकरणका लागि प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईलाई सर्लाही, सोमेन्द्रसिंह राठौरलाई पर्सा, दीपशम्शेर जबरालाई रौतहट, नवराज अधिकारीलाई चितवन, कृष्णप्रसाद पङ्गेनीलाई महोत्तरी, होबिन्द्र बोगटीलाई बारा, ज्ञानेन्द्रप्रसाद फुयाँललाई मोरङ, भुवनेश्वर तिवारीलाई धनुषा र अमरेन्द्रबहादुर सिंहलाई मधेश प्रदेशमा खटाइएको छ।

सुरक्षा अधिकारीहरूका अनुसार उच्च पदस्थ अधिकारीहरूको प्रत्यक्ष कमान्ड र सुरक्षा निकायबीचको सुदृढ सहकार्यका कारण अहिले तराईका जिल्लाहरूमा स्थिति पूर्ण रूपमा नियन्त्रणमा आउँदै गएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *