जनकपुरमा आन्दोलनरत पक्षसँग गृहमन्त्री गुरुङद्वारा छलफल सुरु

डिसी नेपाल
१६ साउन २०८३ १५:३०

काठमाडौं। मधेशका विभिन्न जिल्लामा उत्पन्न तनावपूर्ण स्थिति सामान्यीकरण गर्न गृहमन्त्री सुधन गुरुङले धनुषाको जनकपुरमा आन्दोलनरत पक्षसँग वार्ता थालेका छन्। गृहमन्त्री गुरुङले शनिबार आन्दोलनकारी पक्षका प्रतिनिधिहरूसँग छलफल अघि बढाएका हुन्।

गत साउन १० गते सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपमा परी दुई युवकको मृत्यु भएपछि तराईका जिल्लाहरूमा प्रदर्शन र आन्दोलन चर्किएको थियो। सोही क्रममा सिरहामा दुई समूहबीचको विवादले उग्र रूप लिँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर थप एक युवाको ज्यान गएको थियो।

आन्दोलन शान्त पार्न र सुरक्षा अवस्थाको प्रत्यक्ष अनुगमन गर्न गृहमन्त्री गुरुङ हाल मधेशका जिल्लाहरूमा रहेका छन्। वार्ताका माध्यमबाट केही स्थानको माहोल क्रमिक रूपमा शान्तिपूर्ण बन्दै गएको छ।

प्रशासनले केही जिल्लाबाट कर्फ्यु हटाए पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा भने अझै पूर्ण रूपमा हटाएको छैन। सरकारले वार्ता र संवादका माध्यमबाट सामाजिक सद्भाव कायम राख्दै समस्याको समाधान खोज्ने प्रयास गरिरहेको सरकारी पक्षले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *