कानुनी झट्का र खस्किँदो लोकप्रियताबीच ट्रम्पको राजनीतिक दबाब

डिसी नेपाल
१९ साउन २०८३ ७:२०

वासिङ्टन डीसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि पछिल्ला केही दिनहरू निकै चुनौतीपूर्ण र असहज बनेका छन्। आफ्नै निर्णय र प्राथमिकताका कारण सिर्जित साना-ठूला समस्याहरूसँग जुध्नुपरे तापनि राष्ट्रपति ट्रम्पले भने यस वास्तविकतालाई अंगीकार गर्न हिचकिचाइरहेका देखिन्छन्।

वासिङ्टनको एक ऐतिहासिक स्मारक मर्मतसँग जोडिएको कानुनी विवाद, आफ्नै महान्यायाधिवक्ता (एटर्नी जनरल) मनोनयनमा देखिएको अड्चन, र इरानसँगको लम्बिँदो युद्धजस्ता जटिल विषयहरूले ट्रम्पलाई यतिबेला चौतर्फी दबाबमा पारेका छन्।

निकटतम सहयोगीसँगै मतभेद र ‘रिफ्लेक्टिङ पोल’ विवाद

आफ्नो अघिल्लो कार्यकालमा प्रायः प्रशासनभित्रका विरोधीहरूसँग विवादमा अल्झिने ट्रम्पले यसपटक भने आफ्नै सबैभन्दा निष्ठावान् सहयोगीहरूसँगै असमझदारीको सामना गरिरहेका छन्।

पूर्व फक्स न्युज प्रस्तोता तथा ट्रम्पकी निकट सहयोगी मानिने संघीय सरकारी वकिल (यूएस एटर्नी) जानिन पिरोले पूर्व-ओलम्पियन डेभिड हर्नविरुद्ध लगाइएको कानुनी अभियोग फिर्ता लिने निर्णय गरेकी छन्। हर्नमाथि वासिङ्टन स्मारक नजिकैको ‘रिफ्लेक्टिङ पोल’मा क्षति पुर्‍याएको आरोप थियो।

तर, अदालतमा पेस गरिएको २० पृष्ठ लामो कागजातमा पिरोले उक्त क्षति ‘तोडफोड नभई मर्मतका क्रममा भएको गल्ती’ भएको उल्लेख गर्दै मुद्दा अगाडि बढाउन अस्वीकार गरिन्।

यद्यपि, ट्रम्पले भने उक्त घटना तोडफोड नै भएको दाबी छाडेनन्। सामाजिक सञ्जाल ‘ट्रुथ सोसियल’ र ओभल अफिसबाट बोल्दै ट्रम्पले पिरोको निर्णयको आलोचना गरे र भने- “उनी छाता जसरी पट्याइइन्।”

महान्यायाधिवक्ता मनोनयनमा सिनेटको अड्चन

संसद् (क्यापिटल हिल) मा पनि ट्रम्पले ठूलो राजनीतिक धक्का व्यहोर्नुपरेको छ। उनका कानुनी सल्लाहकार तथा स्थायी महान्यायाधिवक्ताका दाबेदार टोड ब्लान्चको मनोनयनलाई लिएर आफ्नै रिपब्लिकन पार्टीका दुई प्रभावशाली सिनेटरहरू (जोन कोर्निन र थोम टिलिस) ले विरोध जनाए।

ट्रम्प समर्थकहरूले २०२१ मा गरेको क्यापिटल हिल आक्रमणका आरोपितहरूलाई क्षतिपूर्ति दिन बनाउन खोजिएको १.८ अर्ब डलरको कोष (Fund) सम्बन्धी योजना पूर्ण रूपमा रद्द गर्ने प्रतिबद्धता नआएसम्म ब्लान्चको नाम स्वीकृत नगर्ने अडान सिनेटरहरूले लिएका थिए।

अन्ततः ब्लान्चले सिनेटरहरूको सर्त स्वीकार्दै पत्र बुझाएपछि मात्रै उनको नाममा सहमति बनेको छ। ट्रम्पले यो कोषको पक्षमा फेरि वकालत गर्ने बताए पनि सिनेटको राजनीतिक गणितका अगाडि उनले सम्झौता गर्नुपर्ने स्थिति आयो।

 इरान युद्ध र खस्किँदो जनमत

घरेलु राजनीतिक विवादबाहेक इरानसँगको तनावले ट्रम्प प्रशासनलाई झनै संकटमा पारेको छ। इरानसँगको वार्ता र सैन्य कारबाहीको धम्कीका बिच ट्रम्पले इरानमाथि दोहोरो चरित्र देखाएको आरोप लगाएका छन्।

यद्यपि, अमेरिकामा यो युद्धलाई लिएर सर्वसाधारणको असन्तोष बढ्दो छ। पछिल्ला जनमत सर्वेक्षणहरू (Associated Press, CNN, Quinnipiac र YouGov) का अनुसार ट्रम्पको जनसमर्थन  घटेर ३३ प्रतिशत मा झरेको छ। अमेरिकी इतिहासमा दोस्रो कार्यकाल चलाइरहेका राष्ट्रपतिहरूमध्ये यो लोकप्रियतातर्फ पूर्वराष्ट्रपति रिचर्ड निक्सनपछिको सबैभन्दा तल्लो स्तर हो।

तर, ट्रम्पले यी सबै सर्वेक्षणहरूलाई अस्वीकार गर्दै आफ्नो वास्तविक लोकप्रियतातर्फको आँकडा मिडियाले देखाएभन्दा धेरै माथि रहेको दाबी गरिरहेका छन्।

मध्यवधि निर्वाचनको परीक्षा

अबको तीन महिनामा अमेरिकामा कंग्रेसको मध्यवधि निर्वाचन हुँदै छ। विगतमा जस्तै प्रतिकूल जनमतका बाबजुद चुनावी नतिजा आफ्नो पक्षमा पार्न सक्ने क्षमता ट्रम्पसँग रहे पनि, पछिल्ला घटनाक्रमले उनी र उनको रिपब्लिकन पार्टीका लागि आगामी बाटो निकै चुनौतीपूर्ण हुने संकेत गरेको छ।

बीबीसीबाट


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *