कर विजक नराखेको भन्दै दश हजार जरिवाना

डिसी नेपाल
१९ साउन २०८३ २२:१५

नेपालगञ्ज (बाँके)। नेपालगञ्ज उपमहानगरपालिका–२ मा रहेको न्यूश्रीस डिष्टीब्यूटर्सलाई रु १० हजार जरिवाना गरिएको छ। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा आज गएको संयुक्त बजार अनुगमन टोलीले कर विजक नराखेको भन्दै रु १० हजार जरिवाना गरेको हो।

सो डिष्टीब्यूटर्सले भेरी ग्यास बिक्री गर्दै आएको छ। अनुगमन टोलीले नेपालगञ्ज–१८ स्थित आकाश राइस तथा फ्लोर मिलबाट बजारमा गएको करिब ३० किलो अखाद्य मासको कालोदाल नष्ट पनि गरेको छ। दालमा अखाद्य रङको मिसावट भएको र खानयोग्य नभएकाले नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गुरुङले जानकारी दिए।

उनका अनुसार सो राइस मिलले आवश्यक कागजातसमेत देखाउन नसकेकाले जिल्ला प्रशासनमा हाजिर हुन निर्देशन दिइएको छ। राइस मिलबाट गएको कालो दाल नेपालगञ्जको राहुल खाद्यान्न तथा किराना पसलमा फेला परेको थियो।

अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगञ्जकी अधिकृत नेत्रा बोगटी, नेपालगञ्ज उपमहानगरपालिकाबाट प्रवीणकुमार राना, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सचिव वसन्त गौतमलगायत थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *