बाजुरामा अविरल वर्षा र पहिरोको कहर: १ बेपत्ता, २ घाइते, डेढ सय बस्ती उच्च जोखिममा
बाजुरा। लगातारको अविरल वर्षाका कारण बाजुरामा घर माथिबाट पहिरो जाँदा एक जना बेपत्ता भएकी छन् भने दुई जना घाइते भएका छन्।
त्रिवेणी नगरपालिका-९ ताम्सुमा बिहीबार राति घर माथिबाट खसेको पहिरोले स्थानीय कर्णबहादुर थापा र धर्म थापाको घर पुरेको हो। पहिरोमा परी कर्णबहादुरका २० वर्षीया छोरी प्रतीक्षा थापा बेपत्ता भएकी छन्।
पहिरोमा पुरिएर ३९ वर्षीय धर्म थापा र ४३ वर्षीया धौलीदेवी रावल (डम्म थापाकी छोरी) घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार घाइते धर्म थापाको बायाँ खुट्टा र शरीरमा चोट लागेको छ भने धौलीदेवीको टाउको, शरीर र दाहिने खुट्टामा चोट लागेको छ। घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ।
घटनालगत्तै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराको कमाण्डमा १७ जना प्रहरीको टोली आवश्यक उद्धार सामग्रीसहित घटनास्थलतर्फ खटिएको छ।
सडक अवरुद्ध, जिल्लाभर डेढ सय बस्ती जोखिममा
लगातारको वर्षाका कारण बाजुराका प्रमुख सडक खण्डहरू हिलाम्मे भएका छन् भने ठाउँ-ठाउँमा पहिरो जाँदा आवतजावत ठप्प बनेको छ।
जिल्ला विपद् व्यवस्थापन समितिले हालै सार्वजनिक गरेको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८३’ अनुसार बाजुराका ९ वटै स्थानीय तह बाढी र पहिरोको उच्च जोखिममा छन्।
विशेषगरी बुढीगङ्गा, खप्तड छेडेदह, त्रिवेणी, गौमुल, बडिमालिका, बुढीनन्दा, स्वामीकार्तिक खापर, जगन्नाथ र हिमाली गाउँपालिकाका करिब १५० भन्दा बढी गाउँ-बस्तीहरू बाढी-पहिरोको प्रत्यक्ष जोखिममा रहेको जनाइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment