डिप्रेसनका लक्षण कम गर्न दैनिक एक गिलास फलफूलको जुस उपयोगी!

डिसी नेपाल
२९ साउन २०८३ १३:००

एजेन्सी। दैनिक एक गिलास शुद्ध फलफूलको रस (जुस) वा स्मुदी पिउनाले मानिसको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्ने एक अध्ययनले देखाएको छ। बेलायतस्थित न्यूकासल विश्वविद्यालयका शोधकर्ताहरूले गरेको अध्ययनअनुसार दैनिक आहारमा फलफूलको जुस समावेश गर्दा डिप्रेसनका लक्षणहरू उल्लेखनीय रूपमा कम पाइएका हुन्।

‘ब्रिटिश जर्नल अफ न्युट्रिसन’मा प्रकाशित उक्त अध्ययन ‘फ्रुट जुस साइन्स सेन्टर’को सहयोगमा सम्पन्न भएको थियो। सामान्यतया कम मात्रामा फलफूल र तरकारी खाने वयस्कहरूलाई लक्षित गरी चार हप्तासम्म यो अनुसन्धान गरिएको थियो।

अध्ययनको सुरुवातमा सहभागीहरूले दिनमा औसत दुई भाग वा सोभन्दा कम फलफूल तथा तरकारी उपभोग गर्ने गरेका थिए। उनीहरूलाई विभिन्न समूहमा विभाजन गरी दैनिक कम्तीमा ‘पाँच भाग’ फलफूल र तरकारी खाने लक्ष्य दिइएको थियो। जसमध्ये एउटा समूहलाई दैनिक ५ भागको लक्ष्य पूरा गर्ने क्रममा १०० प्रतिशत शुद्ध फलफूलको रस वा स्मुदीको एक गिलास समावेश गर्न भनिएको थियो।

चार हप्तापछि दुवै समूहले फलफूल तथा तरकारीको उपभोग बढाएको पाइयो। तर, दैनिक जुस वा स्मुदी सेवन गर्ने समूहका सहभागीहरूमा डिप्रेसनको स्कोर अर्को समूहको तुलनामा उल्लेख्य रूपमा घटेको भेटियो।

लिभरपुल विश्वविद्यालयकी डा. कोर्त्नी नेलका अनुसार धेरै मानिसका लागि दिनमा पाँच भाग फलफूल तथा तरकारी खाने लक्ष्य पूरा गर्न व्यावहारिक रूपमा कठिन हुने गर्छ। यस्तो अवस्थामा दैनिक एक सानो गिलास फलफूलको रस वा स्मुदी समावेश गर्नु सरल, किफायती र प्रभावकारी उपाय हुन सक्छ, जसले मानसिक स्वास्थ्यमा समेत प्रत्यक्ष-अप्रत्यक्ष फाइदा पुर्‍याउँछ।

तथापि, यो अनुसन्धान केवल ४२ जना सहभागीमा चार हप्ताका लागि मात्र गरिएको एक सानो अध्ययन भएकाले विशेषज्ञहरूले सजग गराएका छन्। फलफूलको रसले डिप्रेसनको स्कोर घटाएको प्रारम्भिक निष्कर्ष आशाजनक भए तापनि फलफूलको रसले नै सोझै डिप्रेसन निको पार्छ भन्ने अन्तिम निष्कर्षमा पुग्न अझ ठूलो जनसङ्ख्या र लामो अवधिको थप अनुसन्धान आवश्यक रहेको अनुसन्धानकर्ताहरूको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *