पेटभित्र १५० ग्राम सुन, विमानस्थलबाट बंगलादेशी नागरिक पक्राउ
काठमाडौं। पेटभित्र सुन लुकाएर नेपाल आएका एक बंगलादेशी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको छ।
दुबईबाट फ्लाई दुबईको उडानमार्फत साउन ३१ गते बिहान १०: ३० बजे काठमाडौं आएका ३५ वर्षीय बंगलादेशी नागरिक मोहम्मद रसेल हल्दरलाई विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फ भन्सार क्षेत्र पार गरी पार्किङतर्फ जाँदै गर्दा सादा पोसाकमा खटिएका प्रहरीले शंका लागेर नियन्त्रणमा लिएका थिए।
सोधपुछका क्रममा उनले करिब १५० ग्राम सुन पेटभित्र लुकाएर ल्याएको स्वीकार गरेका थिए। त्यसपछि उनको काठमाडौं मेडिकल कलेज, सिनामंगलमा एक्सरे गर्दा पेटभित्र शंकास्पद धातु देखिएको थियो। तत्काल शौच गराउँदा उक्त वस्तु बाहिर ननिस्किएपछि पेटमै अड्किएर बसेको पाइएको थियो। उनको स्वास्थ्यमा भने कुनै प्रतिकूल असर नदेखिएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी पाँच दिन अस्पतालमा राखिएको थियो।
भदौ ५ गते शौच गर्ने क्रममा अन्दाजी १५० ग्राम तौलका सुनजस्तो देखिने पहेँलो रङका दुईवटा क्याप्सुल आकारका धातु फेला परेका छन्।
पक्राउ परेका हल्दरलाई आवश्यक अनुसन्धान तथा प्रचलित कानुनबमोजिम कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment