परराष्ट्रमन्त्री खनाल सर्बिया प्रस्थान गर्ने

डिसी नेपाल
८ भदौ २०८३ १४:३०

काठमाडौँ : परराष्ट्रमन्त्री शिशिर खनाल असंलग्न आन्दोलन (नाम) को उच्चस्तरीय स्मरणसभामा सहभागी हुन यही भदौ १४ गते सर्बियाको राजधानी बेलग्रेड प्रस्थान गर्ने भएका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यसतर्फ जान लागेका हुन्। सर्बियाको बेलग्रेडमा आगामी भदौ १५ र १६ गते उक्त उच्चस्तरीय स्मरणसभाको आयोजना हुँदैछ। सन् १९६१ मा बेलग्रेडमै असंलग्न आन्दोलनको पहिलो शिखर सम्मेलन भएको थियो। सोही ऐतिहासिक अवसरको ६५औँ वार्षिकोत्सवका अवसरमा यस वर्ष बेलग्रेडमा यो सभा हुन लागेको हो।

उक्त कार्यक्रममा विश्वका विभिन्न देशका नेताहरू, प्रतिनिधिमण्डल तथा असंलग्न आन्दोलनमा आबद्ध राष्ट्रका प्रतिनिधिहरूको सहभागिता रहनेछ। नेपालले आफ्नो परराष्ट्र नीति सञ्चालनको मुख्य आधारस्तम्भका रूपमा असंलग्नताको सिद्धान्तलाई अङ्गीकार गर्दै आएको छ। नेपालको संविधानले पनि असंलग्न आन्दोलनप्रतिको प्रतिबद्धतालाई प्रमुख नीतिका रूपमा स्वीकार गरेको छ।

नेपालले यसअघि पनि असंलग्न आन्दोलनका वाङडुङ सम्मेलनदेखि लिएर विभिन्न शिखर सम्मेलन, मन्त्रिस्तरीय बैठक तथा अन्य महत्त्वपूर्ण कार्यक्रमहरूमा उच्चस्तरीय सहभागिता जनाउँदै आएको छ। स्मरणसभामा सहभागिता जनाएपछि परराष्ट्रमन्त्री खनाल आगामी भदौ १७ गते सर्बियाबाट स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *