चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
सिन्धुपाल्चोक। पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी जोड्ने सडकको इको खण्ड आजदेखि सञ्चालनमा आएको छ।
भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित इको क्षेत्रमा गत असार ३१ गते पहिरासँगै सडक भासिएपछि सडक अवरुद्ध भएको थियो। सडक डिभिजन कार्यालयले नयाँ टर््याक खोलेपछि आजदेखि सवारीसाधन यो बाटोमा गुड्न थालेका हुन्। सडक खुलाउन छ वटा टिपर र १२ वटा ठूला मेसिन परिचालन गरिएको थियो।
“डाक्लाङमा सडक सहज भइसकेको छ। अब इकोमा पनि सडक खोलिएको छ। लिपिङमा पनि मर्मतसम्भार शीघ्र थालिने छ”, उक्त कार्यालयका प्रमुख नारायणदत्त भण्डारीले भने।
सडक सञ्चालनमा आएसँगै कोदारी बजारमा रोकिएका कन्टेनर भन्सारतर्फ जान थालेका सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतले बताए। उनका अनुसार लिपिङपारि करिब ८५ कन्टेनर अझै अलपत्र छन्।
अन्तरष्ट्रिय राजमार्ग यति लामो समयदेखि बन्द हुँदा आफूहरूले ठूलो हानि बेहोर्नुपरेको गुनासो गर्दै उनले वर्षा कम भएसँगै बाँकी अवरोध पनि हट्ने र दसैँका लागि अ सामान आयात गर्न सहज हुने विश्वास व्यक्त गरे।
भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठका अनुसार बाह्रबिसे–तातोपानी सडकको २६ किलोमिटर खण्डमा वर्षायाममा पटकपटक पहिरो जाने र सडक भासिने समस्या दोहोरिँदै आएको छ। इकोमा सडक खुले पनि लिपिङको समस्या समाधान नभएसम्म नाका सहज रूपमा सञ्चालन हुननसक्ने उनले बताए।
“अस्थायी रूपमा आवागमन खुले पनि लिपिङको सडक मर्मत तथा चीनतर्फको पहिरो हटाउने काम नहुँदासम्म नाका सहज रूपमा सञ्चालन हुने अवस्था छैन”, उनले भने।
No ads found for this position

डिसी नेपाल
Facebook Comment