रसुवा बाढी: हेलिकप्टर अपरेटर र पाइलटहरूलाई प्राथमिकताका साथ उद्धारमा जुट्न क्याप्टेन रामेश्वर थापाको आह्वान
काठमाडौं । रसुवाको टिमुरे क्षेत्र तथा त्रिशूली नदी आसपासमा बुधबार बिहान गएको भीषण बाढीपिरोहोको घटनाले आफूलाई गम्भीर र स्तब्ध बनाएको एयरलाइन्स अपरेटर्स एसोसिएसन अफ नेपाल (डान)का पूर्वअध्यक्ष क्याप्टेन रामेश्वर थापाले बताएका छन्।
एक विज्ञप्ति जारी गर्दै उनले बाढीपहिरोबाट मृत्यु भएका नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै गरेका छन्। यस्तै, उद्धार तथा राहत कार्यमा खटिने सम्पूर्ण पाइलट, चालक दल, व्यवस्थापन, हेलिकप्टर अपरेटर तथा सम्बन्धित व्यक्ति एवं निकायहरूलाई उनले उच्च सम्मान व्यक्त गरेका छन्।
विपद्को समयमा नागरिकको जीवन रक्षाका लागि आफ्नो सीप, अनुभव र स्रोतसाधन परिचालन गर्नु नेपाली उड्डयन क्षेत्रको लामो समयदेखिको परम्परा रहेको उल्लेख गर्दै उनले वर्तमान संकटको घडीमा सम्पूर्ण हेलिकप्टर अपरेटर, क्याप्टेन तथा चालक दललाई उद्धार कार्यलाई उच्च प्राथमिकता दिई समुदायको सेवामा खटिन अपिल गरेका छन्। कठिन भूगोल र प्रतिकूल मौसममा समेत जीवन बचाउन तत्काल पुग्नु पेसागत जिम्मेवारी मात्र नभई मानवीय दायित्वसमेत भएको उनको भनाइ छ।
उद्धार कार्यलाई प्रभावकारी र दीर्घकालीन बनाउन उड्डयन सुरक्षाको उच्चतम मापदण्ड कायम गर्नुपर्नेमा उनले विशेष जोड दिएका छन्। उडान जोखिमको निरन्तर मूल्याङ्कन, मौसम तथा स्थलगत अवस्थाको सही विश्लेषण र उचित समन्वयसშहित उडान सुरक्षा प्रक्रिया पालना गर्न पाइलट तथा अपरेटरहरूलाई उनले आग्रह गरेका छन्।
आपसी सहयोग, समन्वय र मानवीय सेवा नै आजको आवश्यकता रहेको औंल्याउँदै उनले यस कठिन समयमा नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण र अभिन्न निकाय नेपाल आयल निगमलाई आवश्यक सहजताका लागि अनुरोध समेत गरेका छन्। ‘सेवा हाम्रो अहम् दायित्व र परम्परा हो, सुरक्षा हाम्रो जिम्मेवारी’ भन्ने मर्मलाई आत्मसात गर्दै सबैलाई सुरक्षित तवरले उद्धार कार्यमा जुट्न विज्ञप्तिमा आह्वान गरिएको छ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment