गोरखामा आठ शव फेला, बाढीले दुई झोलुङ्गे पुल बगायो
गोरखा। भोटेकोशी नदीमा आएको बाढीपछि गोरखासँग जोडिएको त्रिशूली नदी किनारका विभिन्न स्थानबाट आठ जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार प्रहरीले गोरखातर्फको नदी किनार तथा बगरबाट ती शव फेला पारेको हो।
गण्डकी गाउँपालिका–८ धवादीघाटस्थित नदी किनारबाट एक पुरुषको शव फेला परेको छ। त्यसैगरी गण्डकी गाउँपालिका–६ भुम्लिचोकस्थित त्रिशूली नदी किनारबाट एक, गण्डकी गाउँपालिका–१ बुट्टारबाट एक र गण्डकी गाउँपालिका–४ फेवाटारबाट एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।
यस्तै, गण्डकी गाउँपालिका–७ ज्यामिरेघाटबाट एक पुरुषको शव तथा सहिदलखन गाउँपालिका–३ सिलिङटारस्थित नदी किनारबाट तीन पुरुषको शव फेला परेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए। फेला परेका शवको पहिचान तथा घटनाको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
बाढीका कारण गण्डकी गाउँपालिका–१ बुटारस्थित निर्माणाधीन सुपर त्रिशूली जलविद्युत् आयोजनासमेत प्रभावित भएको छ। आयोजनाभित्र बाढी पसेपछि त्यहाँ कार्यरत मजदुर तथा उपकरणलाई सुरक्षित स्थानमा सारिएको आयोजनाका निरञ्जन रेग्मीले जानकारी दिए।
भोटेकोशीमा आएको बाढीले पृथ्वीराजमार्गसँग गोरखा जोड्ने दुईवटा झोलुङ्गे पुल बगाएको छ भने अर्को एउटा झोलुङ्गे पुलमा पूर्णरूपमा क्षति पुगेको छ। गण्डकी गाउँपालिका–८ धवादीघाट र धादिङको चौकीटार जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको हो। त्यस्तै गण्डकी गाउँपालिका–७ इटार र धादिङको चौकीटार जोड्ने झोलुङ्गे पुलसमेत बाढीले बगाएको प्रहरीको भनाइ छ।
सहिदलखन गाउँपालिका–३ सिलिङटार र चितवनको कुरिनटार जोड्ने झोलुङ्गे पुलमा पनि बाढीले पूर्णरूपमा क्षति पुर्याएको छ। यसका साथै गण्डकी गाउँपालिका–७ स्थित धवादीघाटको पुलसँगै हिक्लुङघाट र पृथ्वीराजमार्गअन्तर्गतको फिस्लिङ पुलमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ।
बेनीघाट–सिउरेनटार जोड्ने मोटरेबल पुलमा पनि बाढीले आंशिक क्षति पुर्याएको छ। बाढीका कारण नदी आसपासका बस्ती, सडक तथा पूर्वाधारमा जोखिम बढेको भन्दै स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ। प्रहरीले प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा क्षतिको विवरण संकलन गर्ने कार्य जारी राखेको जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment