बाढीपीडितको सहयोगार्थ जडीबुटीको ‘क्लब १८’ मा र्यापर यादव सरकारको कन्सर्ट हुने
काठमाडौं। काठमाडौँको जडीबुटीस्थित ‘क्लब १८’ मा आगामी भदौ १७ गते (सेप्टेम्बर २) ‘डिके सागर (यादव सरकार) लाइभ विथ सेलो नाइट’ कन्सर्ट आयोजना हुने भएको छ। आयोजकका अनुसार कन्सर्टको ‘डोर सेल्स’ (प्रवेशद्वारको टिकट बिक्री) बाट संकलित सम्पूर्ण रकम बाढीपीडितको राहत तथा सहयोगमा खर्च गरिनेछ।
कन्सर्टमा ‘जनचेतना’ बोलको मैथिली र्यापबाट चर्चामा आएका र्यापर ‘यादव सरकार’ (डिके सागर) को मुख्य सांगीतिक प्रस्तुति रहनेछ। त्यसका साथै कार्यक्रममा गायक आश्रम थिङ र गायिका अनिशा तामाङले समेत आफ्नो सांगीतिक प्रस्तुति दिनेछन्। राति ८ बजेदेखि सुरु हुने उक्त कार्यक्रमका लागि अनलाइन टिकट बुकिङको व्यवस्थासमेत गरिएको छ।
मनोरञ्जनलाई सामाजिक उत्तरदायित्वसँग जोडेर यो कन्सर्ट आयोजना गर्न लागिएको क्लब १८ का सञ्चालक सुजन श्रेष्ठले जानकारी दिए। “देशका विभिन्न ठाउँमा बाढी र प्राकृतिक विपत्तिका कारण धेरै नागरिक प्रभावित भएका छन्।
यस्तो अवस्थामा कलाकार र संगीतप्रेमीलाई एउटै मञ्चमा जोडेर कार्यक्रमबाट संकलित रकम पीडितको सहयोगमा प्रयोग गर्ने हाम्रो उद्देश्य हो। संगीतमार्फत सामाजिक सहयोग गर्ने यो हाम्रो सानो प्रयास हो,” श्रेष्ठले भने।
आयोजक टोलीले सम्पूर्ण संगीतप्रेमीहरूलाई कन्सर्टमा सहभागी भई मनोरञ्जन लिनुका साथै बाढीपीडितको सहयोगार्थ योगदान पुर्याउन हार्दिक आग्रह गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment