अस्ट्रेलिया भ्रमणमा नेपालको ब्याटिङ किन चल्न सकेन ?
काठमाडौं। नेपाल ‘ए’ क्रिकेट टोली हाल अस्ट्रेलिया भ्रमणमा छ। टोलीले टप एन्ड टी–२० सिरिज सकाएर अहिले एकदिवसीय खेल खेलिरहेको छ।
नेपाल ‘ए’ ले एकदिवसीय शृङ्खलामा पनि आफ्नो खराब ब्याटिङ जारी राखेको छ। नेपालले पहिलो खेलमा अस्ट्रेलियाको घरेलु टोली तास्मिनियाविरुद्ध खेलेको थियो। उक्त खेलमा पहिला ब्याटिङ गरेको नेपाल ४३.३ ओभरमा १९२ रनमै अलआउट भयो।
तास्मिनियाविरुद्ध नेपालका कुनै पनि अर्धशतकीय पारी खेल्न सकेनन्। त्यस खेलमा नेपाल २ विकेटले पराजित भयो। नेपालले दोस्रो खेलमा झन खराब ब्याटिङ गर्यो।
शुक्रबार दक्षिण अस्ट्रेलियाविरुद्धको उक्त खेलमा २६० रनको लक्ष्य पछ्याएको नेपाल २२.१ ओभरमा १२१ रनमै समेटियो। दोस्रो एकदिवसीय खेलमा पनि नेपालका कुनै पनि ब्याटरले अर्धशतकीय इनिङ खेल्न सकेनन्।
दक्षिण अस्ट्रेलियाविरुद्ध नेपाल १३८ रनले पराजित भयो। नेपालले अब आइतबार अन्तिम खेलमा न्यूजील्यान्डविरुद्ध खेल्नेछ।
टप एन्ड टी–२० सिरिजमा पनि खराब प्रदर्शन
तेस्रो संस्करणको टप एन्ड टी–२० का लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले ‘ए’ टोलीलाई प्रतियोगिता खेल्न अस्ट्रेलिया पठाएको थियो। ‘ए’ नाम दिए पनि टिममा समावेश अधिकांश खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरिसकेका छन्। नेपालले टप एन्ड टी–२० सिरिज २०२६ मा पनि लिग चरणमा छ वटा खेल खेल्न पायो। नेपालले छमध्ये चारमा पराजय र दुई खेलमा मात्र जित निकाल्यो।
गत संस्करणमा पनि नेपालले यही प्रकारको नतिजा निकालेको थियो। यसपटक नेपालको सुरुवात निकै कमजोर रह्यो। नेपालले आयोजक नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध ८ विकेटको पराजय व्यहोर्दै प्रतियोगिताको सुरुवात गरेको थियो।
दोस्रो खेलमा नेपालको भेट बङ्गलादेश हाई–परफर्मेन्ससँग भयो। उक्त खेलमा नेपालले ९ विकेटको हार व्यहोर्यो। तेस्रो खेलमा भने नेपालले उत्कृष्ट पुनरागमन गर्दै होबार्ट हरिकेन्सको एकेडेमीलाई ३९ रनले हरायो। सोही लय दोहोर्याउँदै नेपालले चौथो खेलमा अष्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्ध चार विकेटको जित निकाल्यो।
पाँचौँ र छैटौँ खेलमा भने नेपालले फेरि लय गुमायो। नेपालले पाँचौँ खेलमा हैदराबाद किङ्समेन एकेडेमीविरुद्ध ३१ रन र भिक्टोरिया सिए–११ विरुद्ध एक विकेटको पराजय व्यहोर्यो। यसरी समग्रमा नेपालले छ खेलबाट चार अङ्क मात्र जोड्यो। नेपाल तालिकाको सातौँ स्थानमा रह्यो।
ब्याटिङमा किन सुधार देखिएन ?
अस्ट्रेलियामा खराब नतिजा दोहोर्याउनुमा त्यहाँ खेलेको अनुभवको कमी रह्यो। नेपालका पूर्वराष्ट्रिय क्रिकेटर शरद भेषवाकर पनि अस्ट्रेलियाको पिचमा खेल्न कठिन हुने बताउँछन्।
‘अस्ट्रेलियाको पिचमा बल धेरै बाउन्स हुन्छ। हाम्रा लागि त्यहाँको पिच कठिन नै मानिन्छ। यद्यपि हामीले त्यहाँको पिचमा पनि खेल्ने बानीको विकास गर्नुपर्छ,’ भेषवाकरले भने, ‘यस प्रतियोगितामा नेपालले लय पाउन निकै सङ्घर्ष गरेको देखियो। ब्याटिङमा कुशलबाहेक अरू ब्याटर चल्न नसक्दा टोलीले आफूअनुकूल नतिजा निकाल्न सकेन।’
खेलमा पराजय व्यहोरे पनि यस्तो प्रकारको प्रतियोगिताले आगामी दिनमा सिनियर टोलीलाई धेरै फाइदा पुग्ने उनको बुझाइ छ।
‘अस्ट्रेलिया भ्रमणमा नेपाल ‘ए’ ले अपेक्षाअनुसार नतिजा दिन नसके पनि केही खेलमा प्रतिस्पर्धात्मक क्रिकेट भने खेल्यो। यस प्रकारका प्रतियोगिताले खेलाडीको क्षमता अभिवृद्धि गर्न धेरै मद्दत पुर्याउँछ,’ भेषवाकर भन्छन्, ‘ठूला प्रतियोगितामा खेल्दा खेलाडीमा आत्मविश्वास बढ्छ। साथै उनीहरूसामु आफ्नो क्षमता देखाउने अवसर पनि मिल्छ।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment