भोटेकोसी बाढी प्रभावितलाई घरभाडा र राहत दिने विदुर नगरपालिकाको निर्णय
नुवाकोट। भोटेकोसी नदीमा आएको बाढीका कारण विस्थापित भएका प्रभावित परिवारलाई विदुर नगरपालिकाले घरभाडा वापत प्रतिपरिवार १० हजार रुपैयाँ नगद उपलब्ध गराउने भएको छ।
नगरप्रमुख राजन श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको नगर कार्यपालिकाको १३४औँ बैठकले बाढीका कारण घरबास गुमाएका स्थानीयलाई भाडामा बस्न प्रोत्साहन गर्दै उक्त रकम दिने निर्णय गरेको हो।
‘होल्डिङ सेन्टर’को बसाइ छोट्याएर पुनःस्थापनामा सघाउ पुर्याउन नगरपालिकाले घरभाडाका साथै खाद्यान्न, लत्ताकपडा, भान्साका भाँडाकुँडा र सरसफाइका सामग्रीसमेत राहत स्वरूप दिने भएको छ। नगरपालिकाले प्रचलित दरभन्दा बढी भाडा नलिन चेतावनी दिँदै बढी लिएमा कानुनबमोजिम कारबाही हुने स्पष्ट पारेको छ।
बैठकले दीर्घकालीन पुनःउत्थानका लागि तीनै तहका सरकार तथा दाताहरूसँगको सहकार्यमा अस्थायी आवास निर्माणमा जोड दिने निर्णय गरेको छ। साथै, विदुरका होल्डिङ सेन्टरमा रहेका अन्य पालिका र जिल्लाका प्रभावितहरूको व्यवस्थापन सम्बन्धित स्थानीय तहले नै गर्न आग्रह गरिएको छ।
यसैबीच, बाढीका कारण रोकिएको नगरभित्रका विद्यालयको पठनपाठन आगामी भदौ २४ गतेदेखि सञ्चालन गरिने भएको छ। पूर्ण क्षति भएका र अस्थायी आवास केन्द्र बनाइएका बाहेकका विद्यालय खुल्नेछन्।
बाढीले पूर्ण रूपमा क्षति पुर्याएको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयलाई वडा नम्बर ९ स्थित सहरी विकास तथा जिल्ला विकास समितिको जग्गा प्रयोग गरी अस्थायी सिकाइ केन्द्रका रूपमा सञ्चालन गरिने भएको छ। विद्यार्थीहरूलाई कपडाको बाध्यता नराखी पायक पर्ने जुनसुकै विद्यालयमा पढ्न जान पाउने व्यवस्था मिलाइएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment