कृष्णभीरको बाढी प्रभावित सडक निर्माण तीव्र, भदौभित्रै यातायात सञ्चालन गर्ने लक्ष्य
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर क्षेत्रमा अवरुद्ध बनेको सडक मर्मत गरी यसै भदौ महिनाभित्रै दुईतर्फी यातायात सञ्चालनमा ल्याउने गरी सरकारले निर्माण कार्यलाई तीव्रता दिएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले भदौ १७ गते प्रतिनिधिसभामा सम्बोधन गर्ने क्रममा भदौको अन्तिमसम्ममा निर्माण सम्पन्न गरी सवारी आवागमन सहज बनाइने जानकारी गराएका थिए। सोही लक्ष्यअनुसार अहिले निर्माण कार्य द्रुत गतिमा अघि बढाइएको हो।
कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक खोल्नका लागि १० वटा मेसिन र ३० जना प्राविधिक तथा कर्मचारी परिचालन गरिएको छ।
कामलाई २४ सै घण्टा निरन्तरता दिन सशस्त्र प्रहरी बल, नेपालले निर्माण क्षेत्रमा फ्लडलाइटको व्यवस्था गरिदिएको छ, जसका कारण रातको समयमा समेत गरी दैनिक १२ देखि १४ घण्टासम्म काम भइरहेको छ।
नयाँ ट्रयाक निर्माणसँगै पहिरो रोकथामका लागि माथि र तल दुवैतर्फ तीव्र गतिमा काम भइरहेको छ। साथै, यस राजमार्गका अन्य ५ स्थानमा खसेको पहिरो पन्छाएर दुईतर्फी नै यातायात खुलाउने काम पनि साथसाथै अघि बढाइएको छ।
गत भदौ १० गते आएको बाढीका कारण कृष्णभीर क्षेत्रको सडक संरचना कमजोर बनेको थियो।
त्यसपछि भदौ १४ गते भोटेकोशीको बाढीले सडक भासिएपछि सोही दिन सरकारी टोलीले स्थलगत निरीक्षण गरी प्रधानमन्त्री र पूर्वाधारमन्त्रीबीच तत्काल सडक मर्मत गर्नेबारे छलफल भएको थियो।
सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीका प्राविधिकहरूले ४ दिनसम्म गरेको द्रुत अध्ययनपश्चात् कृष्णभीरको पहाड काटेर २५० मिटर नयाँ ट्रयाक बनाउने पहिलो विकल्प उपयुक्त ठहर गर्दै सोहीअनुसार कार्य अघि बढाउन सुझाव दिएका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment