विपत्तिपछि पनि चीनको ग्यिरोङमै व्यवसाय पुनर्जागरणको पर्खाइमा १३ सय नेपाली
काठमाडाैं। चीनको स्वायत्त क्षेत्र तिब्बत (सिजाङ) स्थित विपद्ग्रस्त ग्यिरोङ काउन्टीमा रहेका एक हजार तीन सयभन्दा बढी नेपाली व्यवसायीहरू ठूलो क्षतिपछि पनि स्वदेश फर्कनुको साटो त्यहीँ बसेर आफ्नो व्यवसाय पुनः सञ्चालन गर्ने तयारीमा जुटेका छन्।
नेपाल-चीन सीमास्थित रसुवागढी नाकासँग जोडिएको यो प्रमुख व्यापारिक केन्द्रमा भदौ १० गते नेपालतर्फको उच्च हिमाली क्षेत्रमा हिमनदी फुटेर आएको भीषण बाढीपहिरोले ठूलो भौतिक तथा मानवीय क्षति पुर्याएको थियो।
चिनियाँ अधिकारीहरूका अनुसार उक्त महाप्रलयमा परी ग्यिरोङमा कम्तीमा ४३ जनाको मृत्यु भएको छ भने ५१९ जना अझै बेपत्ता छन्। त्यहाँ हाल खोज तथा उद्धार कार्य निरन्तर जारी छ।
विपत्तिले ठूलो धक्का पुर्याए पनि ग्यिरोङलाई आफ्नो भविष्य, रोजगारी र सपनाको केन्द्र मान्दै नेपाली व्यवसायीहरूले त्यहीँ बसेर नयाँ सुरुआत गर्ने निर्णय लिएका छन्।
ग्यिरोङमा गिफ्ट पसल र रेस्टुरेन्ट चलाउँदै आएका सागा छिरिङ तामाङका अनुसार विपत्तिलगत्तै चीन सरकारले खाद्यान्न, स्वास्थ्य सेवा र आवश्यक व्यवस्थापन उपलब्ध गराएको छ। स्थानीय आप्रवासन प्रहरी र अधिकारीहरूले स्वदेश फर्कन चाहनेलाई सहजीकरण गर्ने प्रस्ताव गरे पनि धेरैजसो नेपाली त्यहीँ बस्न इच्छुक देखिएका हुन्।
त्यस्तै चाँदीका भाँडाकुँडा व्यवसायी राजेन्द्र घतानी ग्यिरोङलाई नेपालीहरूका लागि सुरक्षित र भरपर्दो आधार मान्छन्। उनका अनुसार धेरै नेपाली व्यवसायीहरूले यही नाकालाई माध्यम बनाएर भविष्यमा चीनका अन्य ठूला सहरहरूसम्म व्यापार विस्तार गर्ने सपना देखिरहेका छन्।
रसुवासँग सीमा जोडिएकाले स्थानीय नेपाली व्यवसायीलाई त्यहाँ कर छुटको विशेष सुविधा उपलब्ध छ। कम लगानीमा व्यापार गर्न सकिने र दुई घण्टामै आफ्नो घर-गाउँ पुग्न सकिने भौगोलिक सुगमता नै नेपालीका लागि सबैभन्दा ठूलो अवसर बनेको छ।
शताब्दीयौँदेखि नेपाल र चीनबीचको व्यापारिक तथा जनस्तरको सम्बन्धको महत्वपूर्ण केन्द्र रहँदै आएको ग्यिरोङमा बाढीपहिरोले क्षति पुर्याए पनि नेपाली व्यवसायीहरू आफ्नो अडान र हिम्मतका साथ पुनरुत्थानको पर्खाइमा छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment