छापा माध्यम बचाउ सुझाव कार्यदलद्वारा एमाले अध्यक्ष ओलीलाई ध्यानाकर्षण पत्र बुझाइयो
काठमाडौं। छापा माध्यम (प्रिन्ट मिडिया) माथि उत्पन्न आर्थिक संकट र लोककल्याणकारी विज्ञापन रकम कटौती लगायतका समस्या समाधानको माग गर्दै ‘छापा माध्यम बचाउ सुझाव कार्यदल’ले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ।
आइतबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालय पुगेर कार्यदलका प्रतिनिधिहरूले अध्यक्ष ओलीलाई भेट गरी ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका हुन्।
ध्यानाकर्षण पत्रमा सरकारले लोककल्याणकारी विज्ञापनको बजेट कटौती गर्दा साना तथा स्वरोजगारमूलक र निरन्तर सञ्चालनमा रहेका छापा माध्यमहरू बन्द हुने अवस्थामा पुगेको उल्लेख गरिएको छ।
डिजिटल प्रविधिको विस्तार, आर्थिक मन्दी र सरकारी नीतिमा आएका परिवर्तनका कारण छापा माध्यम गम्भीर संकटमा परेको भन्दै कार्यदलले यसको संरक्षणका लागि नीतिगत हस्तक्षेप र राहत प्याकेज ल्याउन एमालेका तर्फबाट भूमिका खेलिदिन आग्रह गरेको छ।
ध्यानाकर्षण पत्र ग्रहण गर्दै एमाले अध्यक्ष ओलीले लोकतन्त्र, प्रेस स्वतन्त्रता र सूचनाको हक सुनिश्चित गर्न छापा माध्यमको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले छापा सञ्चारमाध्यमले भोगिरहेका समस्याप्रति आफ्नो ध्यान आकर्षित भएको र यस विषयमा सरकार तथा सम्बन्धित निकायसँग आवश्यक छलफल र पहल गर्ने आश्वासन दिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment