तिम्बुङ पोखरी वरिपरि फुल्दै कस्तुरी झार, हिमाली सौन्दर्यमा पर्यटक मोहित

दिलकुमार लिम्बू
२८ भदौ २०८३ १७:०४

ताप्लेजुङ। ताप्लेजुङको सिदिङवा गाउँपालिका–१ कालीखोला क्षेत्रमा अवस्थित तिम्बुङ पोखरी समुद्र सतहदेखि करिब चार हजार मिटर उचाइमा रहेको हिमाली प्राकृतिक सौन्दर्यको खानी हो।

धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको यो पोखरी वरिपरि हरेक वर्ष विभिन्न प्रजातिका फूलहरू फुल्ने गर्छन्, जसले यस क्षेत्रलाई झन् मनमोहक बनाउँछ। विशेष गरी कस्तुरी झार प्रजातिका गुलाबी रंगका फूलहरूले पोखरी वरिपरि हरियालीमा जीवन्त रंग भरेझैं देखिन्छ।

गर्मी याममा फूल फुल्ने मौसममा पोखरी वरिपरि फैलिएका यी कस्तुरी झार प्रजातिका फूलहरूले हिमाली भूभागलाई चित्र जस्तै सुन्दर बनाइदिन्छन्। गुलाबी फूलहरूको नीलो र बैजनी रंगका अन्य फूलहरू पनि फुल्ने भएकाले दृश्यलाई अझ आकर्षक बनाउँछ। हिमाल, ताल र रंगीन फूलहरूको संयोजनले यो स्थानलाई फोटोग्राफी, प्राकृतिक अध्ययन तथा सौन्दर्य अवलोकन गर्न चाहनेहरूको मनपर्ने गन्तव्य बनाइदिएको छ।

तिम्बुङ पोखरीमा धार्मिक आस्थासँगै प्राकृतिक सौन्दर्यको अनुभूति लिन आन्तरिक र बाह्य पर्यटकहरूको आगमन बढ्दो क्रममा छ। पोखरीसम्म पुग्दा यात्राले चुनौतीपूर्ण अनुभव दिन्छ तर वरिपरि देखिने फूलहरूको मोहक दृश्यले यात्राको थकान हराउँछ।

कस्तुरी झार प्रजातिका फूलहरूले तिम्बुङ पोखरीलाई मात्र होइन, समग्रमा हिमाली क्षेत्रको जैविक विविधता र प्राकृतिक सुन्दरताको परिचायक बनाइदिएका छन्। यसरी फूलहरूले भरिएको यो भूभाग पर्यटकहरूलाई प्रकृतिको काखमा शान्ति र आनन्दको अनुभूति गराउने अनुपम स्थलका रूपमा स्थापित हुँदै गएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *