सुन भन्दै एक करोड ३९ लाखभन्दा बढी ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौं। सुनजस्तो देखिने पहेँलो धातु देखाएर पटक–पटक गरी एक करोड ३९ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१ घर भई काठमाडौंको नयाँ बसपार्कमा बस्दै आएका २८ वर्षीय अनिष थापा मगर रहेका छन्।
प्रहरी टोलीले टोखा नगरपालिका–९ मिलनटोलस्थित एक अतिथि गृहबाट उनलाई पक्राउ गरेको हो। उनको साथबाट सुनजस्तो देखिने ८५६ ग्राम पहेँलो धातुसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
ठगीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार थापा मगर जबर्जस्ती करणीसम्बन्धी कसुरमा कैद सजाय भोगिरहेका व्यक्ति रहेको र २०८२ भदौ २४ गते नख्खु कारागारबाट भागेकोसमेत खुलेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment