हरितालिका तीजमा पशुपति क्षेत्रमा कडा सुरक्षा, ९ हजारले गरे दर्शन
काठमाडौं । हरितालिका तीजको अवसरमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। दर्शनार्थीको भिडलाई मध्यनजर गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा, उद्धार, स्वास्थ्य, खानेपानी तथा ट्राफिक व्यवस्थापनलगायतका सेवा सञ्चालन गरेका छन्।
पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ३ः१५ बजेदेखि नै खुला गरिएको थियो। बिहान ७ बजेसम्म करिब ९ हजार दर्शनार्थीले पशुपतिनाथको दर्शन गरिसकेको प्रहरीले जनाएको छ। त्यस्तै, करिब ३ हजार दर्शनार्थी दर्शनका लागि लाइनमा रहेका छन्।
दर्शनार्थीलाई सहज रूपमा मन्दिरमा प्रवेश गरी पूजा तथा दर्शन गर्ने व्यवस्था मिलाउन प्रहरीले सहजीकरणसँगै सूचना प्रवाह, हराएका व्यक्तिको खोजी तथा परिवारसँग पुनर्मिलन, स्वास्थ्य शिविर र ट्राफिक व्यवस्थापनलगायतका सेवा प्रदान गरिरहेको छ।
पशुपति क्षेत्रमा सुरक्षा निगरानी बढाउन सीसीटीभी, ड्रोन तथा सञ्चार प्रविधिको प्रयोग गरिएको छ। सादा पोसाकका प्रहरीसँगै बर्दीमा रहेका महिला, पुरुष तथा विपद् उद्धार प्रहरीलाई समेत परिचालन गरिएको छ।
सुरक्षा व्यवस्थापनका लागि दुई सिफ्टमा प्रहरी परिचालन गरिएको छ। प्रत्येक सिफ्टमा करिब १ हजार २५० प्रहरी खटिएका छन् भने तीजका अवसरमा पशुपति क्षेत्रको समग्र सुरक्षा व्यवस्थापनका लागि २ हजार ५०० भन्दा बढी प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ।
दर्शनार्थीको भिड व्यवस्थापन, सम्भावित दुर्घटना तथा अन्य विपद्का घटनामा तत्काल उद्धार गर्न आवश्यक जनशक्ति र स्रोतसाधन परिचालन गरिएको छ। साथै, भक्तजनको स्वास्थ्यलाई ध्यानमा राख्दै स्वास्थ्य सेवा तथा खानेपानीको व्यवस्था पनि मिलाइएको छ।

















No ads found for this position


डिसी नेपाल
Facebook Comment