काठमाडौंका बन्द कोठामा होइन, विद्यार्थीका सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौँ: शिक्षामन्त्री पोखरेल
काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय समुदायबाट प्राप्त सुझाव तथा गुनासोलाई आधार बनाएर शिक्षा प्रणाली र पाठ्यक्रममा व्यापक सुधार गरिने बताएका छन।
मधेश प्रदेशको स्थलगत भ्रमणका क्रममा सप्तरीका विभिन्न विद्यालयमा पुगेर विद्यार्थीहरूसँग प्रत्यक्ष संवाद गर्दै मन्त्री पोखरेलले काठमाडौंमा बन्द कोठाभित्र बसेर पाठ्यक्रम निर्माण गर्ने पुरानो अभ्यासको अन्त्य गरिने दाबी गरे।
विद्यार्थीहरूले अध्ययनसँगै सीप विकास, व्यावहारिक तथा जीवनोपयोगी शिक्षा र विद्यालयको भौतिक एवं प्रविधिगत सुधारका लागि दिएका सुझावहरू अत्यन्तै मार्मिक र महत्वपूर्ण रहेको भन्दै उनले तिनै सुझावका आधारमा नयाँ पाठ्यक्रम निर्माणको प्रक्रिया अघि बढाइने जानकारी दिए।
भदौ २६ गते धनुषाबाट सुरु भई सप्तरीको महावीर माध्यमिक विद्यालयमा सम्पन्न भएको मन्त्रीसहितको ‘मधेश यात्रा’का क्रममा तिलाठीस्थित राष्ट्रिय प्राथमिक विद्यालय, बोदेबर्साइनको इश्वरी हिया सुरैत जिलेवी जनता मावि, शम्भुनाथको बुद्धिलाल विद्या मुनर नमूना माविलगायत राजविराज र खडक नगरपालिकाका विभिन्न विद्यालयहरूको अनुगमन गरिएको थियो।
सो क्रममा कक्षाकोठादेखि समुदायसम्म पुगेर संकलन गरिएका अनुभव र सुझावहरूले आगामी शिक्षा ऐन तथा नयाँ राष्ट्रिय पाठ्यक्रम निर्माणमा ठोस आधार प्रदान गर्ने मन्त्री पोखरेलको भनाइ छ।
भ्रमणका क्रममा मन्त्री पोखरेलले मधेश प्रदेशमा गुणस्तरीय इन्जिनियरिङ शिक्षा, कृषि कलेजको स्थापना र बर्दिबासमा प्रस्तावित मेडिकल कलेजको निर्माण आवश्यकतामा जोड दिए। बर्दिबासस्थित मेडिकल कलेजको प्रस्तावित स्थलको समेत अवलोकन गर्दै उहाँले मधेश प्रदेश सरकारसँग समन्वय गरी शिक्षा र खेलकुद क्षेत्रको विकासमा काम गर्ने प्रतिबद्धता जनाए।
सङ्कलित समस्या र सुझावहरूलाई तथ्यमा आधारित दस्तावेजका रूपमा तयार गरी नीति निर्माणमा उपयोग गरिने उनले स्पष्ट पारे। मन्त्री पोखरेल नेतृत्वको टोलीमा प्रतिनिधिसभा सदस्य सीताराम साह, डा. अकिता ठाकुर र शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झा सहभागी थिए। मधेश यात्रा पूरा गरी टोली पूर्वाञ्चल विश्वविद्यालयको भ्रमणका लागि प्रस्थान गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment