बोरिस जोन्सन र उच्च युरोपेली अधिकारीहरूले स्टेसन छाडेको केही बेरमै युक्रेनी रेलमा रुसी आक्रमण

डिसी नेपाल
२९ भदौ २०८३ ९:४९

बीबीसी।  युक्रेन-पोल्याण्ड सीमा नजिकै पूर्व बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र उच्च युरोपेली सुरक्षा अधिकारीहरू सवार रेल गुज्रिएको केही बेरमै रुसी ड्रोनले अर्को रेलमा आक्रमण गरेको छ।

याहोदाइन मा भएको उक्त आक्रमणबाट रेलको इन्जिनमा क्षति पुगे पनि कुनै मानवीय क्षति भने भएको छैन। युक्रेनी अधिकारीहरूका अनुसार आक्रमणअघि नै रेलका सबै यात्रुहरूलाई सुरक्षित रूपमा स्थानान्तरण (इभ्याकुएट) गरिसकिएको थियो।

जोन्सनका साथै बेलायतका जोनाथन पावेललगायत युरोपेली राष्ट्रिय सुरक्षा सल्लाहकारहरू किभमा आयोजित एक सम्मेलनमा सहभागी भई अर्कै रेलमार्फत सोही रुट हुँदै फर्किएका थिए।

रुसले पश्चिमी युक्रेनमा रहेको “रेलवे पूर्वाधार” मा प्रहार गरेको जनाएको छ। तर युक्रेनको सरकारी रेलवे कम्पनी ‘उक्रजालिज्न्याट्सिया’ ले भने उक्त ड्रोन प्रहारको मुख्य निशाना कुटनैतिक टोली सवार रेल नै हुन सक्ने प्रबल सम्भावना रहेको बताएको छ।

आक्रमणका बेला याहोदाइन स्टेसनमा अर्को रेलमा रहेका पूर्व सिआइए  प्रमुख डेभिड पेट्राएसले यस घटनालाई “अत्यन्तै डरलाग्दो” भनेका छन्। न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा पेट्राएसले भने, “यो युक्रेनी सर्वसाधारणलाई आतंकित पार्ने एक बर्बर नेताको काम हो।”

उक्रजालिज्न्याट्सियाले जारी गरेको वक्तव्यअनुसार, “रुसी आक्रमणको निरन्तर खतराका कारण समयतालिकामा परिवर्तन गरी रेल तय भएको समयभन्दा पहिल्यै स्टेसनबाट हिँडेको थियो।” साथै, रुसी जेट-प्रोपेल्ड  ड्रोनले प्रहार गर्नुभन्दा ठिक १५ मिनेट अघि मात्रै यात्रुहरूलाई रेल खाली गर्ने आदेश दिइएको कम्पनीले जनाएको छ।

युक्रेनी र पोल्याण्डका अधिकारीहरूका अनुसार रुसी ड्रोन पोल्याण्ड सीमाबाट मात्र २ किलोमिटर टाढा खसेको थियो।

किभको सम्मेलनमा सहभागी पूर्व स्विडेनी प्रधानमन्त्री कार्ल बिल्ड्टले बीबीसीलाई बताएअनुसार उनी सवार रेल रोकिएपछि यात्रुहरूलाई सम्भावित स्थानान्तरणका लागि तयार रहन भनिएको थियो, तर केही मिनेटपछि स्थिति सामान्य रहेको भन्दै रेललाई अगाडि बढ्न दिइएको थियो। पछि उक्त रेल सुरक्षित रूपमा पोल्याण्डको सीमावर्ती स्टेसन डोरोहुस्क पुगेको थियो।

केही सञ्चारमाध्यमले बिल्ड्ट र जोन्सन एउटै रेलमा रहेको उल्लेख गरे पनि पूर्व बेलायती प्रधानमन्त्रीले भने यसबारे विस्तृत विवरण पुष्टि गरेका छैनन्।

जोन्सनले सामाजिक सञ्जाल ‘एक्स’  मा लेखेका छन्, “पुटिनले आज बिहान पोल्याण्डको सीमामा रोकिएर बसेको युक्रेनी लोकोमोटिभ (रेलको इन्जिन) मा कुन विकृत तर्कका आधारमा बमबारी गरे, म बुझ्न सक्दिनँ।” उनले यो युक्रेनीहरूले दैनिक भोगिरहेको अनियन्त्रित र अर्थहीन आक्रमणकै एक रूप भएको बताउँदै युक्रेनका सहयोगी राष्ट्रहरूलाई तत्काल आवश्यक ‘एयर डिफेन्स’ (हवाई सुरक्षा प्रणाली) उपलब्ध गराउन आग्रह गरे।

युक्रेनले आफ्ना सहयोगी राष्ट्रहरू-विशेषगरी अमेरिकालाई-दैनिक हुने रुसी ब्यालिस्टिक मिसाइल र तीव्र गतिका ड्रोन आक्रमणबाट जोगिन थप इन्टरसेप्टरहरू (हवाई रक्षा प्रविधि) प्रदान गर्न बारम्बार आग्रह गर्दै आएको छ।

युक्रेनी परराष्ट्रमन्त्री एन्द्री सिबिहाले याहोदाइनस्थित युक्रेन-पोल्याण्ड सीमामा भएको यो “बर्बर आक्रमण” ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आतंक सीधा ‘इयु’  र ‘नेटो’  को ढोकामा ढक्ढक्याएको टिप्पणी गर्दै मस्कोमाथि अझ कडा प्रतिबन्ध लगाउन माग गरे। “पुुुुुटिनले आफ्नो बर्बरताको जवाफ निर्णायक कदमबाट दिइनेछ र युद्धको मूल्य उहाँका लागि असह्य हुनेछ भन्ने कुरा बुझ्न आवश्यक छ। उहाँलाई रोक्ने यो नै एकमात्र उपाय हो,” उनले भने।

यसैबीच, पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले पछिल्ला घटनाक्रमबारे छलफल गर्न आकस्मिक बैठक बोलाएका छन्। उनले भने, “रुसी पक्षबाट हुने उत्तेजक गतिविधिहरू वास्तविकतामा परिणत भइरहेका छन् र ती हाम्रा सीमाको अझ नजिक आइपुगेका छन्।”

जोन्सन र अन्य उच्च युरोपेली सुरक्षा सल्लाहकारहरू किभमा आयोजित ‘याल्टा युरोपियन स्ट्राटेजी’  सम्मेलनमा सहभागी भएर फर्कँदै हुनुहुन्थ्यो। यो राजनीति, व्यापार, सुरक्षा र सञ्चार माध्यमका नेता तथा विज्ञहरूलाई एकै ठाउँमा ल्याउने वार्षिक कार्यक्रम हो।

रेलवे र पूर्वाधारमा रुसी आक्रमण तीव्र

रुसले रेल, रेलवे डिपो, पेट्रोल पम्प र सीमा नाकाहरूलाई निशाना बनाउँदै युद्धलाई अझ बढावा दिइरहेको देखिन्छ।

यसै साताको सुरुमा युक्रेन र मोल्डोभाको सीमा नाकामा रुसी ड्रोन प्रहार हुँदा दुई जनाको मृत्यु भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभएको थियो। त्यस्तै, यो हप्ता दक्षिणी युक्रेनमा यात्रुवाहक रेलमा भएको ड्रोन आक्रमणमा एक महिला कन्डक्टरको मृत्यु भएको थियो भने महिनाको सुरुमा किभमा रहेको एक डिपोमा आक्रमण हुँदा उक्रजालिज्न्याट्सियाका ६ जना कर्मचारीको ज्यान गएको थियो।

यसअघि गत जनवरीमा उत्तर-पूर्वी खार्किभ क्षेत्रमा भिडभाड रहेको यात्रुवाहक रेलमा रुसले गरेको आक्रमणमा पाँच जनाको मृत्यु भएपछि जेलेन्स्कीले त्यसलाई “आतङ्कवाद” भन्दै भर्त्सना गर्नुभएको थियो।

सन् २०२२ मा रुसले पूर्ण रूपमा आक्रमण सुरु गरेयता सबै हवाई उडानहरू निलम्बित भएकाले युक्रेनको फराकिलो रेल नेटवर्क नै लाखौँ नागरिकका लागि यातायातको मुख्य साधन बनेको छ। रुसी प्रहारले यस सञ्जालमा ठूलो क्षति पुर्‍याएको छ।

यसैबीच, युरोपेली मुलुकहरूले पनि आफ्ना क्षेत्रमा भएका शंकास्पद घटनाहरूमा रुसको हात रहेको आरोप लगाएका छन्। गत हप्ता जर्मनीले लाइपजिग  विमानस्थलमा गत अगस्टमा भएको ड्रोन आक्रमणका लागि रुस जिम्मेवार रहेको बताएको थियो, जसलाई मस्कोले “हास्यास्पद” भन्दै अस्वीकार गरेको छ। त्यसैगरी इटालीदेखि एस्टोनियासम्मका रक्षा सुविधाहरूमा भएका शंकास्पद आगजनीका घटनाहरूमा पनि केही देशहरूले रुसलाई नै दोष दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *